• ३ साउन २०८१, बिहिबार

मौरीबाट सिक्ने की?

blog

भाइबहिनीहरू तिमीहरू सबैले खाएकै छौ होला महको स्वाद कति गुलियो, स्वादिलो अनि मीठो हुन्छ । यति मीठो मह बनाउने मौरी कति सानो हुन्छ । उनीहरूले समूहमा मिलेर बराबरी काम गर्छन् । नजिकै फुलेको फूलको रस चुसेर जम्मा गर्दै गर्दै धेरै मह  आफ्नो घार अर्थात् उनीहरू बस्ने घरमा सङ्कलन गर्छन् । उनीहरू आफू पनि खाँदैनन् । यसका लागि उनीहरू फूलको रस लिन टाढा टाढा पनि पुग्छन् । 

हामीले जीवनमा मौरीको मेहनत  हेरेर पनि धेरै कुरा सिक्न सक्छौँ । मौरीजस्तै मेहनती बन्न सक्छौँ । उस्तै प्रजाति हो झिँगा । तिमीहरूलाई पनि थाहा छ झिँगा फोहोरमा बस्छ । दुर्गन्ध खान्छ । झिँगालाई कसैले पनि मन पराउँदैनन् तर 

मौरीले राम्रो काम गर्ने हुनाले हामी सबैले मौरीको प्रशंसा गर्छौं  । 

भाइबहिनीहरू मौरीको धेरै गुण नै गुण छ । त्यसैले हामी हरेक वर्षको मे २० को दिनलाई मौरी दिवस भनेर मनाउने गर्छौं किनभने नेपाल कृषि प्रधान देश हो । मौरी पालेर पनि हामीले पेसा गरेका छौँ । आयआर्जन गरेका छौँ । मौरी पालन पनि एक कृषि पेसा हो । यो पेसाबाट मह उत्पादन गर्नुका साथै मैनजस्ता वस्तुको उत्पादन गर्ने गरिन्छ । 

यस पेसाका लागि धेरै जग्गा र लगानीको आवश्यकता पर्दैन । सानो ठाउँमा पनि गर्न सकिन्छ । मौरी पालन गर्ने मान्छे अति नै मेहनती र सिर्जनशील पनि हुन्छ ।  तिमीहरूलाई थाहा 

छ ? मौरी पाल्ने अनि मौरीको स्याहारसुसार गर्नेलाई मौरीले पनि चिन्छ । टोक्दैन भनिन्छ । यो कुरा विभिन्न महोत्सवमा मौरी पालन कृषकले अनुहार र  शरीरभरि मौरी लगाएर देखाएकोबाट पनि बुझिन्छ । नेपालमा धेरैलाई हामीले मौरी बाजे भनेर पनि चिन्छौँ । उहाँहरू शरीरमा मौरीको पूरै घार लगाएर एक दिनभरि पनि बस्न सक्नुहुन्छ ।

मौरीको २० हजारभन्दा बढी प्रजाति छन् ।  यीमध्ये धेरै मौरी शान्त स्थानमा वा एक्लै बस्न मन पराउँछन् । केही मौरी जङ्गली हुन्छन् । मौरी पालन विभिन्न प्रकारका मौरीको प्रजातिलाई पाल्नु हो । एउटा मौरीको घारमा लगभग एक लाखभन्दा बढी मौरी हुन्छन् । मौरीलाई शान्त ठाउँ मन पर्छ । धेरै हावा तथा हल्ला हुने ठाउँमा मौरीले घर बनाउँदैन । यसले फूलबाट मह बनाउने भएकाले फूलबारी छेउ या बारीमा खेती फूलको समय मौरीका लागि मह बनाउने राम्रो समय पनि मानिन्छ ।