मकवानपुर समाचारदाता
मकवानपुर, चैत ११ गते । विसं २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसइई) मा शून्य नतिजा आएका विद्यालयप्रति जिल्ला परीक्षा समन्वय समितिले चासो देखाएको छ । यस वर्षको एसइईमा नतिजा सुधारका लागि भएका प्रयास र योजनाबारे ती विद्यालयसँग छलफल गर्दै समितिले नतिजा सुधारको सुनिश्चितता गर्न विद्यालयलाई निर्देशन दिएको छ ।
गत वर्षको शैक्षिक सत्रमा मकवानपुरका सात विद्यालयको एसइई नतिजा शून्य रहेको थियो । २०८१ को एसइईमा मकवानपुर जिल्लाको थाहा नगरपालिका–७, आग्रास्थित सुन्दरीदेवी माध्यमिक विद्यालय, राक्सिराङ गाउँपालिका–४ स्थित कालिका मावि, वडा नं. ८ स्थित श्री माध्यमिक विद्यालय, वडा नं. ८ कै प्रजाजागृति मावि, मनहरी गाउँपालिका–२ स्थित सीता मावि, बकैया गाउँपालिका–३ स्थित कालिका मावि र बकैया–१० स्थित प्रसिद्ध माविको नतिजा शून्य आएको थियो ।
ती विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षसँग छलफल गरिएको समितिका संयोजक एवं मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जानकारी दिनुभयो । उहाँले नतिजा शून्य आएका विद्यालय र विद्यार्थीको समस्या र अवस्थाबारे सोधीखोजीसँगै यस वर्षको एसइईमा नतिजा सुधारका उपायबारे छलफल गरिएको बताउनुभयो । गत वर्ष एसइईमा सुन्दरीदेवी माध्यामिक विद्यालयबाट आठ, कालिका माविबाट दुई, श्री माध्यमिक विद्यालयबाट १७, प्रजाजागृति माविबाट २९, सीता माविबाट २०, कालिका माविबाट २३ र प्रसिद्ध माविबाट १५ जना सहभागी भएकामा शून्य नतिजा आएको थियो ।