बोमलाल गिरी
नवलपुर, चैत ९ गते । नवलपुरको कावासोती नगरपालिका –३ का महिला मादल बजाउने तालिम लिन थालेका छन् । वडा कार्यालयले आफ्नो वडाभित्र रहेको ३८ जना महिलालाई दैनिक दुई घण्टाका दरले १५ दिने निःशुल्क तालिमको आयोजना गरेको हो ।
वडाले बिहान र दिउँसो गरेर १९–१९ जनाको दुई टोली बनाइ वडामा दर्ता भएका मन्दिर र आमा समूहमा सहभागीलाई तालिम दिइएको वडाध्यक्ष डोरमान गिरीले बताउनुभयो । चैत १ गतेदेखि सुरु भएको बाद्यवादन तालिम चैत १५ गतेसम्म चल्नेछ ।
सीप सिकेपछि कुनै बेला काम लाग्ला भनेर तालिममा सहभागी भएको स्थानीय सरस्वती न्यूरेले बताउनुभयो । बिवाह, ब्रतबन्ध, रत्यौली, भजनकृतनमा काम लाग्छ भनेर तालिम लिएको उहाँको भनाइ छ ।
प्रशिक्षक गोकुल कडेलले महिलाहरु तल्लिन र अनुशासित भइ मादल बजाउन सिकिरहेको बताउनुभयो । १५ दिनको तालिमपछि भजन र रत्यौलीमा मादल बजाउन अब पुरुषहरुलाई खोज्न नपर्ने उहाँको भनाइ छ । महिलाहरु घरायसी काम र सामाजिक सञ्जालमा मात्र व्यस्त हुने भएकाले उनीहरुलाई पनि सक्षम बनाउन यो तालिम फलदायी हुने उहाँको विश्वास छ ।
आर्थिक वर्ष २०८२–८३ को दुई लाख रुपियाँ बजेटबाट तालिम आयोजना गरेको अध्यक्ष गिरीले बताउनुभयो । वडा कार्यालयले एक लाख रुपियाँ खर्च गरेर १८ वटा मादल किनेको छ । तालिम समापनपछि ती सबै मादल दर्ता भएका हरेक मन्दिर र आमा समूहलाई हस्तान्तरण गर्ने गिरीले बताउनुभयो ।
सामाजिक कार्यक्रम गर्दा मादल भए पनि बजाउने मान्छेको अभाव हुने गरेकाले महिलालाई दक्ष बनाउन तालिम दिइएको उहाँको भनाइ छ । गत वर्ष मादल, खैजडी र मजुरा बजाउने तालिम दिइएको थियो । यसले महिलामा माग अझै बढेको भन्दै अध्यक्ष गिरीले आगामी वर्ष बजेट बढाएर सहभागी संख्या पनि थप गर्ने योजनामा रहेको सुनाउनुभयो ।