• १३ साउन २०८१, आइतबार

अक्सिजेनेटर झिकाउन निर्देशन

blog

काठमाडौँ, साउन ७ गते । अक्सिजेनेटर मेसिन अभावका कारण मुटुको शल्यक्रिया रोकिएपछि संसद्को शिक्षा तथा स्वास्थ्य समितिले कूटनीतिक पहल गरेर मेसिन तत्काल झिकाउन सरकारलाई निर्देशन दिएको छ । समितिको बैठक शुक्रबार बसेको थियो । 

शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले मुटुका बिरामीको शल्यक्रिया तत्काल गर्नका लागि कूटनीतिक पहल र कानुनी बाधा अड्चन फुकाएर मेसिन ल्याउनुपर्ने बताउनुभयो । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी सचिव देवकुमारी गुरागाईंले कूटनीतिक पहल गरेर पनि अक्सिजेनेटर ल्याउन सकिने बताउँदै हाल विश्वबजारमा अक्सिजेनेटर अभाव भइरहेको उल्लेख गर्नुभयो । उहाँका अनुसार कोरियाबाट केही दिनभित्र १० वटा अक्सिजेनेटर मेसिन नेपाल ल्याइँदै छ । 

शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले विश्व बजारमा अक्सिजेनेटर मेसिनको अभाव रहेको बताउनुभयो । उहाँले विश्वबजारमा अक्सिजेनेटर मेसिन तीनवटा कम्पनीले मात्र उत्पादन गर्ने जानकारी दिनुभयो । उहाँले मेसिन अभाव भएका कारण आकस्मिकबाहेकको शल्यक्रिया रोकिएको बताउनुभयो ।