• १४ असार २०८१, शुक्रबार

नागरिकता विधेयक फास्ट ट्याकबाट पारित गर्नु देशको हित विपरीत : सांसद सुवाल

blog

फाइल तस्बिर

काठमाडौं, साउन ६ गते । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नागरिकता विधेयकलाई फास्ट ट्याकबाट पारित गर्नु देशको हितमा नभएको बताउनुभएको छ ।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्नुहँदै सांसद सुवालले नागरिकता विधेयक फास्ट ट्याकबाट पारित गर्न खोज्नु देशको हितमा नभएको बताउनुभएको हो ।

नागरिकता विधेयकलाई सम्बन्धित समितिमा पठाउनुपर्ने उहाँको भनाइ छ । नागरिकताको विषय सार्वभौमिकतासँग सम्बन्धित विषय भएकाले जनतासँग समेत छलफल गर्नेगरी कार्यसूची बनाउनु जरुरी रहेको उहाँले बताउनुभयो ।

नेपालको नागरिकता समस्या समाधान गर्न खुला सीमा बन्द गर्नुपर्ने उहाँको भनाइ छ । आमा र बुबा दुवै वंशजको नेपाली नागरिकका छोराछोरीलाई मात्र वंशजको नेपाली नागरिकता दिनुपर्ने उहाँको धारणा छ ।
उहाँले जन्मको आधारमा दिएको नागरिकता विदेशीले पनि पाएकाले छानबिन गरी खारेज गर्नुपर्ने बताउनुभयो ।

सांसद सुवालले निर्वाचन, सरकारी सेवा, राजनीतिक नियुक्ति, उद्योग, व्यापारका लागि वंशजको नेपाली नागरिक आवश्यक हुने व्यवस्था गर्नु जरुरी रहेको उल्लेख गर्नुभयो ।

त्यस्तै, नेपालीले विदेशीसँग विवाह गर्न निरुत्साहित गर्नुपर्ने र नेपालीसँग विवाह गरेका महिला वा पुरुषलाई २० वर्षपछि नेपालको भाषा र संस्कृतिबारे लिखित र अन्तर्वार्ता परीक्षा उत्तीर्ण गरेमा नेपालको कृतिम नागरिकता दिनुपर्ने उहाँको भनाइ छ ।