• १२ असोज २०८१, शनिबार

वंशजको नागरिकता जन्मको आधारमा दिनु गलत : सांसद पौडेल

blog

फाइल तस्बिर

काठमाडौं, साउन ६ गते । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य दुर्गा पौडेलले भारतमा चुनाव हारेर नेपालको सांसद हुने गरी नागरिकता वितरण गर्ने काम नगर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । शुक्रबार संसद् बैठकमा आफ्नो धारणा राख्नुहुँदै सांसद पौडेलले सो कुरा बताउनुभएको हो ।

सांसद पौडेलले वास्तविक नेपालीले नागरिकता पाउनुपर्छ भन्ने कुरामा दुई मत नभएको भन्दै भारतमा चुनाव हारेर नेपालको सांसद हुने गरी नागरिकता वितरण गर्न नहुने बताउनुभयो ।

नेपालीसँग विवाह गर्ने विदेशी महिलाको हकमा सात वर्षको प्रावधान राखिनुपर्छ । विदेशी महिला नेपाली केटासँग विवाह गरेर आउने बित्तिकै नागरिकता दिने प्रावाधान हटाइ सात वर्षको प्रावधान नराखिए अन्यथा राष्ट्रियतामा दूरगामी रुपमा धेरै ठूलो क्षति हुने उहाँको भनाइ छ ।

सांसद पौडेलले अङ्गीकृत नागरिकता सिधैं प्रदान गर्नु विधिशास्त्र र कुनै सिद्धान्तले नदिने बताउनुभयो ।

कुनै पनि देशले आफ्नो भौगोलिक अवस्था, सीमानाको अवस्था आदिको सर्वपक्ष मूल्याङ्कन गरेर देशको हितमा हुने गरी नागरिकता वितरण गर्ने हरेक देशको आ–आफ्नो प्रचलन छ । सांसद पौडेलले वंशजको नागरिकता जन्मको आधारमा दिने कुरा गलत हुने बताउनुभयो ।

बुबा र आमा दुवै वंशजका छन् भने त्यो नागरिकले मात्रै वंशजको आधारमा नागरिकता पाउनुपर्ने उपाध्यक्ष पौडेलको भनाइ छ ।