• ३ चैत २०८२, मङ्गलबार

हावाहुरीले सयौँ विघा मकै बालीमा क्षति

blog

प्रवीण कुमार शर्मा

रौतहट, चैत ३ गते । सोमबार साझ आएको हावाहुरीका कारण रौतहटको उत्तरी भेगमा लगाइएका मकै बालीमा ठूलो क्षति पुगेको छ । हावाहुरीका कारण चन्द्रपुर, वृन्दावन र गुजरा  नगरपालिकाका किसानले लगाएको मकै बालीमा क्षति  भएको स्थानीय कृषकले जनाएका छन् ।

हावाहुरीका कारण मकैमा घोगा लाग्ने समयमा बाली ढलेपछि उत्पादनमा असर पर्ने देखिएको वृन्दावन नगरपालिका–४ का कृषक राम कल्याण यादवले बताउनुभयो । उहाँका अनुसार सोमबार साझको हावाहुरीले वृन्दावन नगरपालिकामा मात्र २ सय बिघामा लगाइएका मकै  बाली ढलेको छ।

घोगा लाग्ने बेलामै मकै ढल्दा उत्पादनमा कमी आउने र त्यसको प्रत्यक्ष असर जिविकोपार्जनमा पर्ने बृन्दावन नगरपालिका(२ का वडा अध्यक्ष सिकेन्द्र राउत कुर्मिले भन्नुभयो । वर्षेनी प्राकृतिक विपत्तिका कारण बालि क्षति हुने तर किसानलाई कुनै निकायबाट सहयोग नहुँदा कृषि पेशा तर्फ आकर्षण घट्दो क्रममा रहेको चन्द्रपुर(५ का स्थानीय पुजा झाले बताउनुभयो ।

मकै बालीमा क्षति हुँदा नगरपालिकाले  कुनै चासो समेत नराखेको उहाँले गुनासो गर्नुभयो ।

गुजरा नगरपालिकाका कार्यपालिका सदस्य बिजय साह बानियाका अनुसार किसानले लगाएको  मकै बाली हावाहुरिले क्षतिग्रस्त हुँदा तिनैतहको सरकार संबेदनसिल हुनु पर्ने बताउनुभयो ।

कृषि ज्ञान केन्द्र रौतहटका सूचना अधिकारी सरोज मण्डलका अनुसार सोमबार साझको हावाहुरीले किसानले लगाएको बालीमा क्षती पुगेको तथा हालसम्म क्षतिको विवरण सङ्कलन नभएकोले सङ्कलनपछि मात्रै वास्तविक क्षतिको तथ्याङ्क भन्न सकिनेछ ।