राधाकृष्ण डुम्रे
वालिङ(स्याङ्जा), चैत ३ गते । स्याङ्जाको वालिङमा वित्तीय सचेतनाका लागि प्रभातफेरि गरिएको छ । बैंकर्स क्लब वालिङको आयोजनामा “ग्लोबल मनी वीक” अन्तर्गत कार्यक्रम सम्पन्न भएको हो ।
“पैसा बचत गरौँ” र “आम्दानी अनुसार खर्च गरौँ” जस्ता सन्देश बोकेका प्लेकार्ड सहित वालिङका बैंकर्सहरु सडकमा निस्किएका हुन् ।
जनचेतना मूलक प्रभातफेरी पश्चात आयोजित कार्यक्रममा मुक्तिनाथ विकास बैंकका पूर्व अध्यक्ष भरतराज ढकालले आम्दानीसँगै बचत र खर्चको मूल्याङ्कन गर्न जरुरी रहेको बताउनु भयो । सहज जीवनयापनका लागि बचत अपरिहार्य छ भन्ने जानकारी सेवाग्राहीलाई दिन सबै बैंकर्सले भूमिका खेल्नु पर्नेमा उहाँको जोड छ ।
“ग्लोबल मनी वीक” चैत २ देखि ८ गतेसम्म मनाइँदै आएको विश्वव्यापी कार्यक्रम हो । यसले विशेषगरी बालबालिका र युवालाई पैसाको सही प्रयोगबारे सिकाउने लक्ष्य राखेको ढकालको भनाइ छ ।
कार्यक्रम बैंकर्स क्लब वालिङका अध्यक्ष नविन काफ्लले पछिल्लो समय वित्तीय सचेतना जरुरी रहेको बताउनु भयो । अनलाईन बैंकिङ लगायतका कारणले यसको आवश्यक्ता बढेको उहाँको भनाइ छ ।
क्लवका सचिव मणि बस्याल क्लव मार्फत सचेतनाका कामहरु निरन्तर गर्दै आएको बताउनुभयो ।