• १५ असार २०८१, शनिबार

पाथीभरा पदमार्गमा फाइबरको छाहारी

blog

पाथीभरा पदमार्ग लगाइएको फाइबारको छाहारी । तस्बिर: चन्द्र पन्दाक

ताप्लेजुङ, साउन ६ गते । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको पदर्मागमा फाइवरको छाहारी लगाइएको छ । पाथीभराको दर्शनमा जाने तीर्थयात्रीको यात्रालाई सहज बनाउन पदमार्गमा फाइवरको छाहारी लगाइएको हो ।

हिमपात र वर्षाको समयमासमेत तीर्थयात्रीलाई यात्रा गर्न सहज होस् भन्ने उद्देश्यले पदमार्गमा फाइवरको छाहारी लगाउन सुरु गरिएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेका अनुसार पाथीभरा धाम क्षेत्रदेखि फाइबरको छाहारी लगाउन थालिएको छ । 

पदमार्ग नै ढाक्नेगरी हिउँ परेको समयमा पनि तीर्थयात्रीको यात्रालाई सहज बनाउन फाइवरको छाहारी लगाएको समितिका कार्यकारी निर्देशक काफ्लेले बताउनुभयो । उहाँका अनुसार गत आर्थिक वर्षमा ३० लाख रुपियाँ खर्चिएर फाइवरको छाहारी लगाइएको छ । पदमार्गमा फलामे ट्रस जडान गरी फाइवरको छाहारी लगाइएको उहाँले बताउनुभयो ।

पाथीभरा पदमार्गमा अघिल्लो आर्थिक वर्षदेखि नै फाइवरको छाहारी लगाउन थालिएको छ । गत आवमा मात्र करिव ९४ मिटर दूरीभित्र पदमार्गमा फाइवर छाहारी लगाएको समितिले जनाएको छ । पाथीभरा धामदेखि तल फेदीबजारतर्फ ठूलो घण्टीसम्म करिव छ सय मिटर पदमार्गमा फाइवरको छाहारी लगाई सकिएको कार्यकारी निर्देशक काफ्लेले जानकारी दिनुभयो । पदमार्गलाई तीन मिटर चौडाइमा विस्तार गरी फाइवरको छाहारी लगाएको जनाइएको छ । 

यस्तै पदमार्ग सोलिङ गरिएको छ भने दाँया–बायाँ रेलिङ लगाएको पनि पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबेले जानकारी दिनुभयो । अध्यक्ष थेबेका अनुसार प्रत्येक वर्ष पदमार्ग सोलिङ गरेर मर्मत गर्ने, रेलिङ र ट्रस जडान गरेर फाइवरको छाहारी लगाउने कार्य हुँदै आएको छ । पदमार्गका ठाउँ–ठाउँमा शौचालय, पानीका धारा, विश्रामस्थल लगायतका संरचनासमेत निर्माण गरिँदै आएको उहाँले जानकारी दिनुभयो । 

पाथीभरा धामदेखि करिव दुई किलोमिटर बढी दूरी रहेको माथिल्लो फेदी बजारसम्म नै पदमार्गमा फाइवरको छाहारी लगाउने क्षेत्र विकास समितिको योजना रहेको छ । पाथीभरा धाम तीन हजार ७९४ मिटरको उचाइमा रहेकाले हिउँद मौसममा निक्कै बाक्लो हिमपात हुने गरेको छ । पाथीभरा दर्शनमा भने आन्तरिक तथा बाह्य गरी वर्षमा लाखौं तीर्थयात्री आउने गरेका छन् ।