विनय कर्ण
कल्याणपुर (सप्तरी), फागुन २५ गते । सुनसरीको झुम्का कारागारबाट फरार रहेका एक जना कैदीलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार रहेका कैदीलाई सप्तरीको कञ्चनरुप नगरपालिकाबाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सप्तरीको कञ्चनरुप नगरपालिका वडा ६ घोघनपुरका ४४ वर्षीय डोरला भन्ने समिउल्लाह मियाँ रहनुभएको छ ।
जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद सजाय पाउनु भएका मियाँलाई विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले कञ्चनपुर नगरपालिका वडा ७ बलुवा टोलमा लुकीछिपी बसेको अवस्थामा आईतबार बेलुका पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिनुभयो ।
पक्राउ परेका मियाँलाई आवश्यक कानुनी प्रक्रिया पुरा गरी सोमबार पुनः झुम्का कारागार, सुनसरी पठाइएको उहाँले बताउनुभयो ।