• १५ असार २०८१, शनिबार

लोप हुने अवस्थामा ‘दौउडा’

blog

हुम्ला, साउन ५ गते । उत्तरी हुम्लाका लामा समुदायबाहेक अन्य जातिका अविवाहित युवतीले लगाउने दौउडा लोप हुने अवस्थामा पुगेको छ । पछिल्लो पुस्ताका युवती सबै आधुनिक कुर्ता सलवार लगाउने र दौउडा कसैले नलगाउने भएपछि यो पोसाक लोप हुने अवस्थामा पुगेको हो । खार्पुनाथ गाउँपालिका–४ की जयपुरी हमालले सानो उमेरमा लगाएको दौउडा अहिले भने लगाउन छाडेको बताउनुभयो ।

उहाँले विद्यालयमा माथिल्लो कक्षामा अध्ययन गर्न थालेपछि सबै छात्राले सो डौउदा लगाउन छाडेका कारण यो पोसाक नै लोप हुने अवस्थामा पुगेको बताउनुभयो । हुम्लामा दौउडा लगाउने सबै अविवाहित युवती भनेर पहिचान हुने गथ्र्यो । एउटा घरमा अविवाहित छोरी मान्छेका लागि कम्तीमा पनि दुईदेखि तीन जोर यो पोसाक वर्षमा नयाँ सिलाउने गरिन्थ्यो । 

स्थानीय बबरजङ्ग हमालले अहिलेका अविवाहित युवती सबैले यो पोसाक लगाउन छाडेको बताउनुभयो । उहाँले छोरी पनि विद्यालयमा पढ्न जान थालेपछि कुर्ता सलवार लगाउनाले डौउदा लोप हुने अवस्थामा पुगेको बताउनुभयो । उत्तरी हुम्लाका सामा समुदायका महिलाबाहेक अन्य सबै जातिका अविवाहित छोरी मान्छेले पुस्तौँदेखि यो पोसाक लगाउँदै आउनुभएको थियो तर पछिल्ला चार–पाँच वर्षयता दौउदा लगाउने छोरीमान्छे भेट्टाउनै नसकिने उहाँले बताउनुभयो ।बरु यो पनि एक पहिचान भएका कारण विद्यालय, वडा कार्यालय र स्थानीय सांस्कृतिक संस्थाहरूले यो पोसाक सिलाएर राख्ने गर्नुभएको छ । दौउदा लगाएर सांस्कृतिक कार्यक्रममा भने युवतीहरू नाच्ने र देउडा गाएको देखिन्छ ।