• १ जेठ २०८१, मङ्गलबार

विद्यालयमा सुविधायुक्त शौचालय

blog

जुम्ला, साउन ५ गते । जुम्लाका दुईवटा विद्यालयमा सुविधायुक्त शौचालय निर्माण गरिएको छ । सिन्जा गाउँपालिका–४, जुम्लाको शारदा आधारभूत विद्यालय र कनकासुन्दरी–३ मा सञ्चालित नवदुर्गा आधारभूत विद्यालयमा सुविधायुक्त शौचालय निर्माण गरिएको हो । प्लान इन्टरनेसनल नेपाल र पेस नेपाल जुम्लाको साझेदारीमा सञ्चालित खानेपानी, सरसफाइ, स्वच्छता तथा उत्थानशील परियोजनाअन्तर्गत शौचालय निर्माण गरिएको हो । 

पेस नेपाल जुम्लाका परियोजना प्रमुख हेमराज भट्टका अनुसार १३ लाख ७२ हजार रुपियाँमा शारदा आधारभूत विद्यालयमा र १३ लाख ६४ हजार रुपियाँ लागतमा नवदुर्गा आधारभूत विद्यालयमा शौचालय निर्माण गरिएको हो । 

सुविधायुक्त शौचालयसँगै दुई लाख २१ हजार रुपियाँको लगानीमा दुवै विद्यालयमा बालमैत्री खानेपानी धारा पनि निर्माण गरिएको जनाइएको छ । शौचालय भए पनि पानी अभाव र छात्रछात्राका लागि छुट्टाछुट्टै शौचालय नहुँदा विद्यार्थीले हैरानी खेप्नुपरेको थियो । 

शारदा आधारभूत विद्यालयका प्रधानाध्यापक विश्वराज श्रेष्ठले शौचालय र बालमैत्री धारा निर्माणले विद्यालय र विद्यार्थीको सरसफाइमा सहयोग पुगेको बताउनुभयो । नवदुर्गा आधारभूत विद्यालयका प्रधानाध्यापक हरिबहादुर बुढाले शौचालय र खानेपानीको अभावमा विद्यार्थी अनियमित हुने समस्या हटेको बताउनुभयो ।