• २४ फागुन २०८२, आइतबार

अघिल्लो हार उल्ट्याउँदै बझाङमा एमालेका महरको जीत

blog

विजयी उत्सवमा सहभागी ऐन महर। तस्बिर : प्रताप ओली

सुरेश धामी
बझाङ, फागुन २४ गते।
बझाङबाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का उम्मेदवार ऐन महर विजयी हुनुभएको छ। शनिबार बिहान सम्पन्न मतगणनाअनुसार महरले १८ हजार ५४३ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रकाश रसाइलीलाई २ हजार २२९ मतान्तरले पराजित गर्नुभएको हो। रसाइलीले १६ हजार ३०४ मत प्राप्त गर्नुभएको छ।

मुख्य निर्वाचन अधिकृत सुवर्णमान बनेपालीका अनुसार जिल्लामा खसेको ५७ हजार ९९४ मतमध्ये अन्य दलका उम्मेदवारहरूले पनि उल्लेख्य मत प्राप्त गरेका छन्। नेपाली कम्युनिष्ट पार्टीका मिनबहादुर कुँवरले ९ हजार ७५७ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका शैलेसकुमार सिंहले ९ हजार २६३ मत प्राप्त गर्नुभएको छ।

चुनौतीपूर्ण चुनावी प्रतिस्पर्धा
निर्वाचनको सुरुआती चरणमा महरका लागि राजनीतिक वातावरण सहज थिएन। एकातिर नेपाली कांग्रेसभित्र देखिएको असामान्य एकता र अर्कोतर्फ एमालेभित्र टिकट वितरणलाई लिएर देखिएको असन्तुष्टिले चुनावी समीकरण जटिल बनेको थियो।

विशेषगरी टिकट नपाएको विषयमा असन्तुष्टि जनाउँदै आएका नेता अफिलाल ओखेडा लगायतका नेताहरूलाई एकताबद्ध बनाउनु महरका लागि चुनौतीपूर्ण बनेको थियो। पार्टीभित्रको असन्तुष्टिका बाबजुद अन्ततः एमालेका नेता–कार्यकर्ता एकजुट भएपछि चुनावी वातावरण महरको पक्षमा मोडिएको विश्लेषण गरिएको छ।

विद्यार्थी आन्दोलनबाट राजनीतिक यात्रा
वि।सं। २०४० चैत २ गते बझाङको साविक सुवेडा गाविस ९हाल जयपृथ्वी नगरपालिका–७० मा पिता रामबहादुर महर र आमा रतना महरको कोखबाट जन्मिएका महरको राजनीतिक यात्रा विद्यार्थी आन्दोलनबाट सुरु भएको हो।

स्नातकोत्तर तहको अध्ययन पूरा गरेका महर हाल एमफिल अध्ययनमा संलग्न हुनुहुन्छ। २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा भने उहाँ गठबन्धनका उम्मेदवार भानुभक्त जोशीसँग ९९८ मतले पराजित हुनुभएको थियो।

महरले २०५५ सालमा काठमाडौंस्थित अस्कल क्याम्पसमा अध्ययनका क्रममा अनेरास्ववियुमार्फत विद्यार्थी राजनीति सुरु गर्नुभएको थियो। २०६५ सालमा पोखरामा सम्पन्न अनेरास्ववियुको १९औँ राष्ट्रिय अधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका उहाँ क्रमशः संगठनभित्र उक्लँदै २०६७ मा सचिवालय सदस्य, २०७० मा उपाध्यक्ष र २०७६ मा संगठनको अध्यक्ष बन्न सफल हुनुभएको थियो।

त्यस्तै एमालेको २०७८ र २०८२ सालमा सम्पन्न महाधिवेशनबाट उहाँ केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ।

विकासको प्रतिबद्धता
निर्वाचन जितेपछि आयोजित विजय सभामा बोल्दै महरले यो जित व्यक्तिगत नभई बझाङका जनताको जित भएको बताउनुभयो। जनताले गरेको विश्वासलाई निराशामा परिणत हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै उहाँले जनताका दुःख–सुखमा सधैं साथ रहने बताउनुभयो।

उहाँले सडक, सञ्चार पूर्वाधार, जलविद्युत्, पर्यटन प्रवर्द्धन, कृषि तथा जडीबुटीमार्फत रोजगारी सिर्जना गर्दै बझाङलाई विकासको मार्गमा अघि बढाउने योजना रहेको बताउनुभयो।

“बझाङको आवाज केन्द्रसम्म पुर्‍याउने र केन्द्रको स्रोत दुर्गम बस्तीहरूमा पुर्‍याउने गरी काम गर्नेछु,” महरले भन्नुभयो, “जनताले गरेको विश्वासलाई निराशामा परिणत हुन दिने छैन।”