प्रवीणकुमार शर्मा
रौतहट, फागुन २३ गते । रौतहट निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यको रुपमा निर्वाचित हुनु भएका रास्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजेश कुमार चौधरीले क्षेत्रमा आमूल परिवर्तनको लागि आफु अहोरात्र खटिने बताउनुभएको छ ।
निर्वाचित भए पछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उहाँले यहाँको जनताको मुख्य आवश्यकताको रुपमा रहेको शिक्षा, स्वास्थ्य र कृषिमा सुधारको लागि आफु कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । खस्कदो शिक्षाको गुणस्तर बढाउन, गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन तथा आधुनिक कृषिमा सवैको पहुँच पुर्याउन आफु आजैदेखि प्रतिबद्ध भएर लाग्ने उहाँले बताउनुभयो ।
पुराना राजनीतिक दलले गरेको नराम्रो कामकै कारण जनता अहिले रास्ववार्टी पत्याएको र जनादेश दिएको बताउँदै उहाँले रास्वपा देश र जनताको लागि काम गर्ने बताउनुभयो । भ्रष्टाचार, बेथितिको अन्त्य गर्दै सुशासन कायम, समुन्नत समाज निर्माणमा आफु लाग्ने उहाँले भन्नुभयो ।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा रौतहट १ बाट पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल ३३ हजार ५२२ मत ल्याएर विजयी हुनुभएको थियो । सो निर्वाचनमा रास्वपाका उम्मेदवार सूर्यदेव प्रसाद कोइलाराले १६३ मत मात्र पाउनुभएको थियो । तर यसपटक उम्मेदवार स्वयंको व्यक्तिगत मताधारका कारण रास्वपाले जित हासिल गरेको छ । उहाँले २८ हजार ९४६ मत ल्याई जित हासिल गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अजय कुमार गुप्ताले १० हजार ६९३ मत पाउनुभएको छ । यस निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक तथा पूर्व प्रधानमन्त्री नेपाल सात हजार ६६९ मत ल्याई चौथो स्थान हासिल गर्नुभएको छ ।
२०२८ भदौ ४ मा जन्मिनु भएका रास्वपाबाट विजयी चौधरी रौतहटको दुर्गा भगवती गाउँपालिका वडा नं. १ गंगापिप्राका स्थानीय हुनु हुन्छ । कृषि क्षेत्रमा सक्रिय रहनु भएका चौधरी प्रविणता प्रमाण पत्र तह उत्तीर्ण हुनुहुन्छ ।
२०५४ सालमा नेकपा एमालेको सदस्यता लिनु भएका चौधरी २०७९ सालको निर्वाचनमा प्रदेश सभा सदस्यको उम्मेदवार हुनु हुन्थ्यो । नेपाली कांग्रेस रौतहटको जिल्ला सचिव रहनुभएका चौधरीलाई प्रदेश सभा निर्वाचनमा पार्टीले उम्मेदवार नबनाएपछि उहाँले पार्टी परित्याग गर्दै स्वतन्त्र उम्मेदवार हुनु भएको थियो ।
रौतहट क्षेत्र नं. १ (ख) बाट स्वतन्त्र उम्मेदवार रहनु भएका चौधरीले ११ हजार चार सय मत ल्याउनु भएको थियो । सो निर्वाचनमा उहाँ नेपाली कांग्रेसका कृष्णप्रसाद यादवसँग पराजित हुनु भएको थियो । यादवले १२ हजार ४८९ मत प्राप्त गर्नुभएको थियो । उहाँ २०७४ सालमा समेत प्रदेश सभा सदस्यको उम्मेदवार हुनु हुन्थ्यो । त्यस बेला उहाँ नेपालि कांग्रेसबाट रौतहट क्षेत्र नं. १ (ख) मा उम्मेदवार भइ ८ हजार ६७९ मत ल्याउनु भएको थियो । सो निर्वाचनमा तत्कालिन सङ्घीय समाजवादी फोरम, नेपालका योगेन्द्र राय यादव ८ हजार ९५७ मतका साथ विजयी हुनुभएको थियो ।