• २४ फागुन २०८२, आइतबार

सल्यानमा नेकपाका मल्ल विजयी

blog

शंकर केसी
सल्यान, फागुन २४ गते ।
सल्यानबाट प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रमेशकुमार मल्ल २३ हजार १८९ मतका साथ विजयी हुनुभएको छ । उहाँले निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार ललित कुमार चन्दलाई दुई हजार २८५ मतले पछि पार्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो । चन्दले २० हजार ९०४ मत पाउनुभएको छ । सल्यानका मुख्य निर्वाचन अधिकृत प्रह्लाद कुमार योगीले अन्तिम मतपरिणाम घोषणा गर्नुभएको हो ।

सार्वजनिक परिणाम अनुसार नेपाली कांग्रेसका केशबहादुर विष्टले १७ हजार ५५८ मत ल्याउँदै तेस्रो स्थानमा रहनुभएको छ भने नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार गुलाबजंग शाह १५ हजार ३७३ सहित चौथो स्थानमा रहनुभएको छ ।

यस निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टीका चन्द्र बहादुर खड्काले ९४३, राप्रपाका अनिशा नेपालीले ९०२ मत ल्याउनुभएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयको अन्तिम नतिजा अनुसार जिल्लामा एधक लाख ६२ हजार ४४९ मतदाता मध्ये ८३ हजार १६७ मत खसेको थियो । यसमा ७९ हजार ७०९ मत सदर र तीन हजार ४५८ मत बदर भएको थियो ।

सल्यानमा यसपटकको निर्वाचन निकै प्रतिस्पर्धात्मक बनेको थियो । प्रारम्भिक चरणदेखि नै नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार मल्लले अग्रता कायम राख्नुभएको थियो  । यद्यपि मतगणनाको अन्त्यतिर रास्वपाका चन्दले केही मतले अग्रता लिनुभएको थियो । मतगणनाको क्रममा रास्वपाका उम्मेदवार चन्दले पनि कडा प्रतिस्पर्धा दिए पनि अन्ततः मल्लले जित सुनिश्चित गर्नुभयो ।

विजयी उम्मेदवार रमेशकुमार मल्लको संक्षिप्त जिवनी
नेपाली कम्युनिस्ट पार्टी सल्यानबाट निर्वाचित रमेश कुमार मल्लको जन्म विस २०३५ माघ २८ मा भएको थियो । उहाँ कुमाख ५, सल्यान निवासी हुनुहुन्छ । राजनीतिशास्त्रमा स्नातकोत्तर गर्नुभएका मल्ल तत्कालीन माओवादी युद्धकालमा १० वर्ष कठिन भूमिगत जीवन र शान्ति प्रक्रियापछिका २० वर्षमा राजनीतिका विविध उतारचढाव, पार्टीका अनेकन अन्तरविरोध, सामाजिक सांस्कृतिक विसंगति र विभिन्न खालका खराबी विरुद्ध सङ्घर्ष गर्दै आउनुभएको हो ।

उहाँका जिल्लास्थित नेताहरुका अनुसार मल्लले यिनै सङ्घर्षका कारण राष्ट्रिय राजनीतिमा हस्तक्षेप गर्न सक्ने क्षमता राख्नुभएको छ । सल्यानबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारका रुपमा पहिलो पटक जनतामाझ परिक्षित हुने मौका पाउनुभएका मल्लले जित निकाल्न सफल बन्नुभयो ।

मल्लको राजनीतिक विकासक्रम
२०५० मा अखिल (क्रान्तिकारी) सदस्य

बन्नुभएका रमेशकुमार मल्ल २०५४ मा नेकपा (माओवादी) को पूर्णकालीन सदस्य, २०५७ मा अखिल (क्रान्तिकारी) सल्यानको अध्यक्ष, २०५८ मा पश्चिम विस्तार अभियानमा सेतीमहाकाली सरुवा, युद्धकालमा चार वर्ष सेती महाकालीका विभिन्न जिल्लामा पार्टी र संगठनको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुभएको थियो ।

२०६२–६३ को ऐतिहासिक जनआन्दोलनमा दाङमा युवा विद्यार्थीहरुको नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका मल्ल २०७२ मा अखिल (क्रान्तिकारी) को केन्द्रीय अध्यक्ष, २०७३ मा नेकपा (माओवादी केन्द्र) को केन्द्रीय सदस्य, २०८२ मा नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य, २०७२ मा त्रिभुवन विश्वविद्यालय सभाको सदस्य, तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको दोस्रो र तेस्रो कार्यकालमा स्वकीय सचिवको जिम्मेवारी पूरा गर्नुभयो ।

उहाँले छिमेक यात्रा (पुस्तक) प्रकाशन, अखिल (क्रान्तिकारी) का प्रकाशन जनसंग्राम, योद्धा, संगीनलगायतका पुस्तक सम्पादन गर्नुभएको छ ।

जापान, भारत, चीन, इटाली, यूएई, बंगलादेश, श्रीलंका लगायतका देशमा नेपाली प्रतिनिधिमण्डलको रुपमा भ्रमण गर्नुभएका मल्ल संयुक्त राष्ट्रसङ्घीय खाद्य प्रणाली शिखर सम्मेलन २०२३, इटालीमा सहभागी बन्नुभएको छ भने जलवायु परिवर्तनसम्बन्धी कोप २८ अन्तर्राष्ट्रिय सम्मेलन २०२३ युएईमा सहभागीता जनाउनुभएको छ ।