प्रनिश गिरी
कुश्मा (पर्वत) फागुन २३ गते । पर्वतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले प्रतिनिधि सभा सदस्यमा शानदार मतले विजय हासिल गरेका छन् । रास्वपाका उम्मेदवार सागर भुषालले आफ्ना प्रतिस्पर्धीलाई भारी मतान्तरले फरक पार्दै २६ हजार ५६१ मत हासिल गरी विजय हुनुभएको हो ।
नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशीलाई १० हजारभन्दा बढी मतान्तरले उछिनेका विजयी उम्मेदवार भुषालले नेकपा एमालेका उम्मेदवार पदम गिरीलाई ११ हजार बढी मतले फरक पार्नुभएको हो । नेपाली कांग्रेसका उम्मेदवार जोशीले १५ हजार ९५४ मत, एमालेका गिरीले १५ हजार ७५ मत, नेपाली कम्युनिष्ट पार्टीका मनहरी तिमिल्सिनाले चार हजार ५५७ मत प्राप्त गर्नुभएको छ ।
विजयी उम्मेदवार भुषालले भन्नुभयो, ‘‘यो विजय मेरो व्यक्तिगत विजय होइन । सम्पूर्ण पर्वत जिल्लाका नागरिकहरुको विजय हो । यहाँहरुको विश्वासलाई सम्मान गर्दै, सबै नागरिकलाई समान व्यवहार गर्दै देशको विकास, सुशासन र जनहितका लागि इमान्दारिपूर्वक काम गर्ने प्रतिवद्धता व्यक्त गदर्छौ । पर्वतको विकास, देशको सम्वृद्धि र सकारात्मक परिवर्तनका लागि अब हामी सवै मिलेर अघि बढ्नेछौं ।’’
जिल्लामा रहेका मतदाता सङ्ख्या एक लाख २५ हजार ४६६ मध्ये ६३ हजार ३६७ मत खसेको हो । खसेको मतको करिब ४२ प्रतिशत मत हासिल गरी रास्वपाका उम्मेदवार भुसाल पर्वतबाट प्रतिनिधिसभा सदस्य बन्नुभएको छ ।