• २३ फागुन २०८२, शनिबार

राष्ट्रिय सभा सदस्यको शपथ सोमबार

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, फागुन २३ गते । राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यको शपथ फागुन २५ गते सोमबार हुने भएको छ । राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ अनुसार निर्वाचित सदस्यले सभाका अध्यक्षसमक्ष शपथ गर्ने छन् । 

सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले २०८२ माघ ११ गते आइतबारका दिन सम्पन्न निर्वाचनबाट निर्वाचित सदस्यलाई फागुन २५ गते सोमबार अपराह्न २ बजे शपथको समय तोकिएको जानकारी दिनुभयो । उहाँका अनुसार शपथका लागि नवनिर्वाचित सदस्यले निर्वाचित भएको प्रमाणपत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि एक/एक प्रतिसहित उपस्थित हुनुपर्ने छ । 

मातृभाषामा शपथ लिने सदस्यले राष्ट्रिय सभा सदस्य निर्वाचन ऐनबमोजिम शपथको बेहोरा आफ्नो मातृभाषामा अनुवाद गरी सो अनुवादको एक प्रति फागुन २४ गते नै सङ्घीय संसद् सचिवालयमा उपलब्ध गराउनुपर्ने छ । शपथ कार्यक्रम सिंहदरबारस्थित कानुन, न्याय तथा मानव अधिकार समितिको हलमा हुने छ । 

सचिवालयका सहायक प्रवक्ता अनन्तप्रसाद कोइरालाले फागुन २५ गते कार्यकाल सकेका १८ जना सदस्यको सभाका अध्यक्ष नारायणप्रसाद दाहालले बिदाइ गर्नुहुने छ । राष्ट्रिय सभाका १९ जना सदस्यको कार्यकाल फागुन २० गते सकिने छ । रिक्त हुने पदमध्ये १८ जना निर्वाचित भएका छन् । 

सभाका उपाध्यक्ष विमला घिमिरेको कार्यकाल सकिने सदस्य हुनुहुन्छ । 

राष्ट्रिय सभामा थप दुई जना सदस्यको पद रिक्त छन् । राष्ट्रपतिबाट मनोनीत हुने एक र नेपाली कांग्रेसबाट निर्वाचित सभाका सदस्य बलदेव बोहराको निधनपछि दुई पद रिक्त छन् । सभाका उपाध्यक्षसहित तीन वटा विषयगत समितिको सभापतिको कार्यकालसमेत सकिँदै छ । अधिवेशन चालु रहेको अवस्थामा पद रिक्त भएको १५ दिनभित्र उपाध्यक्षको निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था छ ।