• ७ वैशाख २०८१, शुक्रबार

‘बालबालिकामा हुने क्यान्सर शतप्रतिशत निको हुन्छ’

blog

काठमाडौं, साउन ४ गते। हरेक वर्ष नेपालमा एक हजारदेखि १५ सयको हाराहारीमा बाल क्यान्सरका नयाँ बिरामी थपिने अनुमान गरिएको छ।नयाँ थपिएका क्यान्सरका सबै बिरामी  उपचारको पहुँचमा नभएको चिकित्सकको भनाइ छ। 

कान्ति बाल अस्पतालका बाल क्यान्सर रोग विशेषज्ञ डा. विष्णुरथ गिरीले नेपालमा बाल क्यान्सरका करिब दुई तिहाई बालबालिका उपचारको पहुँचबाहिर रहेको बताउनुभयो।

उहाँले भन्नुभयो, “नेपालमा यकिन तथ्याङ्क नभए पनि हरेक वर्ष एक हजारदेखि १५ सयको हाराहारीमा बाल क्यान्सरका बिरामी थपिने अनुमान गरिएको छ।देशरभरका क्यान्सर उपचार हुने  अस्पतालमा हेर्ने हो भने पाँच सयको हाराहारीमा मात्रै बिरामी उपचारत छन्।करिब दुई तिहाई बालबालिकाहरु उपचारका लागि अस्पतालमा आएका छैनन् ।” 

उहाँका अनुसार धेरै जना क्यान्सरको उपचार नेपालमा नै सम्भव भएपनि धेरैलाई थाहाँ नभएर बालबालिका आकालमै मृत्यवरण गर्न बाध्य छन्। उहाँले भन्नुभयो, “क्यान्सर लागेपछि मान्छे मरिहाल्छ भन्ने गलत धारणाका कारण धेरै बालबालिकाहरुको अकालमै मृत्यु हुनेगरेको छ।बालबालिकामा हुने क्यान्सरको उपचार नेपालका सरकारी अस्पतालमा नै हुन्छ।अधिकांश क्यान्सरको उपचार शतप्रतिशत निको हुन्छ ।” 

क्यान्सर के कारणले लाग्छ भन्ने कुरा अध्ययनबाट पत्ता लागेको छैन।तर, बच्चामा हुने अधिकांश क्यान्सर डीएनएमा खराबी आएका कारण हुने मानिन्छ।उहाँका अनुसार डीएनए किन ड्यामेज हुन्छ भन्ने विषय अध्ययन भएको छैन।

विकासित देशमा ८५ प्रतिशत बाल क्यान्सर निको हुन्छ।हाम्रो देशमा रोग पत्ता लागिसकेपछि उपचार नै नगर्ने प्रचलन छ।तर, अस्पताल आएर नियमित उपचार गरेमा ६५ देखि ७० प्रतिशत निको हुन्ने डा. गिरीले बताउनुभयो। 

डा. गिरीका अनुसार बालबालिकामा जुनसुकै उमेरमा पनि क्यान्सर हुनेगर्छ।उमेरअनुसार क्यान्सर रोगको प्रवृत्ति फरक हुने उहाँले बताउनुभयो।बच्चामा हुने क्यान्सरमध्ये आधाभन्दा बढी रगतसँग सम्बन्धित हुने उहाँको भनाइ छ। 

डा. गिरीले भन्नुभयो, “बालबालिकामा हुने क्यान्सरलाई रोकथाम गर्न सकिन्न।सुरुवातमा नै पहिचान गरेर रोगथाम गर्नु नै यसबाट बच्ने मुख्य उपाए हो ।” 

बालबालिकामा हुने क्यान्सरको अवस्था कस्तो छ ? सरकारीस्तरबाट यसलाई नियन्त्रण गर्न कस्ता खालका पहल भएका छन् भन्ने विषयमा केन्द्रीत भएर कान्ति बाल अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा. विष्णुरथ गिरीसँगको भिडियो संवाद : 

भिडियाे : मनोजरत्न शाही र केशव गुरुङ

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।