राममणि दाहाल
मकवानपुर, फागुन २१ गते । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मकवानपुर जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान जारी रहेको छ ।
बिहीबार बिहान ७ बजेदेखि सुरु भएको मतदानमा दिउँसो २ बजेसम्ममा एक लाख २६ हजारभन्दा बढी मतदाताले मतदान गरिसकेका छन् । प्रदेश निर्वाचन कार्यालय बागमती प्रदेश हेटौँडाका प्रदेश निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जिल्लाका सबै मतदान केन्द्रमा गरी समग्रमा करिब ४० प्रतिशत मतदान भएको जानकारी दिनुभयो । उहाँका अनुसार एक लाख २६ हजारभन्दा बढी मतदाताले मतदान गरी सकेका छन् ।
निर्वाचनका लागि मकवानपुरभर १६७ मतदान स्थल र ३७४ मतदान केन्द्र तोकिएका छन् । जिल्लामा कुल तीन लाख १५ हजार ३३४ मतदाता रहेका छन् । तीमध्ये मकवानपुर–१ मा एक लाख ५८ हजार ४३४ र मकवानपुर–२ मा एक लाख ५६ हजार ८९९ मतदाता रहेका छन् ।
जिल्लामा दुई वटा अस्थायी मतदान स्थल पनि राखिएको छ । भीमफेदी कारागार र जिल्ला प्रशासन कार्यालय मकवानपुरमा एक–एक मतदान स्थल स्थापना गरिएको हो । जिल्लामा रहेका मतदान स्थलमध्ये सुरक्षा संवेदनशीलताका आधारमा १९ मतदान स्थललाई अति संवेदनशील, ६० मतदान स्थललाई संवेदनशील र ८८ मतदान स्थललाई सामान्य श्रेणीमा राखिएको छ ।
निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा भइरहेको ढकालले बताउनुभयो । निर्वाचनमा दुई हजार २४४ कर्मचारी खटिएका छन् ।