• १४ असार २०८१, शुक्रबार

बाँकेमा सबैभन्दा बढी वर्षा मापन, किसानलाई राहत

blog

वर्षाले खेतबारीमा भरिएको पानी । तस्विर –सिराज खान । नेपालगञ्ज

सिराज खान 

नेपालगञ्ज, साउन ४ गते । बुधबार देशभर सबैभन्दा बढी वर्षा बाँके जिल्लामा मापन गरिएको छ । जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्र, बाँकेले देशभर बुधबार सबैभन्दा बढी वर्षा बाँकेको खजुरामा भएको जनाएको छ । 

जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्र बाँकेका सूचना अधिकृत रुपन ज्ञवालीले मौसम पूर्वानुमान शाखाले गरेको मापनअनुसार खजुरामा बुधबार बिहान ३ घण्टा परेको मुसलधारे वर्षा १५५ मिलिलिटर मापन गरेको जनाएको हो । 

यो वर्षा नै यस वर्षको हालसम्मको सबैभन्दा बढी वर्षा भएको जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्र, बाँकेका सूचना अधिकृत ज्ञवालीले बताउनुभयो । 

उहाँका अनुसार बाँकेको नेपालगञ्जमा बुधबार बिहान १ घण्टाको अवधिमा ८६ मिलिलिटर र कोहलपुरको ढकेरीमा ९६ मिलिलिटर पानी परेको छ । 

अहिले पनि बाँके र बर्दियामा निरन्तर वर्षा भइरहेकाले नदी तटीय क्षेत्रमा बसोबास गर्नेहरुले सचेत भएर बस्नुपर्ने तथा अन्य डुबान क्षेत्रका बासिन्दाले पनि सुरक्षित क्षेत्रतर्फ जानुपर्ने अवस्था  छ । 

बुधबार बिहानबाट परेको अविरल वर्षाले बाँकेको कोहलपुरका केही क्षेत्र र नेपालगञ्जका केही क्षेत्र जलमग्न भएका छन् । सडक अग्लो भएको क्षेत्रमा दर्जनौं घर र पसलमा पानी पसेको छ भने नालाको निकास अवरुद्ध भएको ठाउँमा पानी जमेर डुबानको अवस्था बनेको छ । 

नाला सफा गर्ने कार्य निरन्तर भइरहेकाले पानी तीव्र गतिमा शहरबाट बाहिरतिर निस्किरहेको नेपालगञ्जका उपप्रमुख कमरुद्दीन राईले बताउनुभयो । 

किसानलाई सबैभन्दा बढी राहत 

साउनको पहिलो सातासम्म पनि वर्षा नभएपछि रोपाइँ गर्न नपाएर सबैभन्दा बढी पीडित बनेका किसानहरु बुधबार बिहानदेखि परेको ठूलो वर्षाबाट खुशी भएका छन् । 

वर्षा नहुँदा ब्याड सुकिरहेको र खेतमा धाँजा फाटिसकेको बेला पानी परेपछि अब रोपाइँ हुने र रोपाइँ भइसकेको खेतको धान जोगिने आशा पलाएको बाँके खजुराका किसान रामचन्द्र थापाले बताउनुभयो ।