आज प्रतिनिधि सभा सदस्य निर्वाचन हुँदै छ । निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । आशा गरौँ, निर्वाचन सफलतापूर्वक सम्पन्न हुने छ । यो निर्वाचनलाई विगतको असफलता र भविष्यको प्रतिस्पर्धाका रूपमा पनि हेर्ने गरिएको छ । नयाँ र पुरानाबिचको गज्जबको प्रतिस्पर्धा हुँदै छ । पुराना दल पनि नयाँ बनेर आएका छन् भने चुनावकै लागि केही दल खुलेका छन् । निर्वाचनमा पुराना दल अनुभव, सङ्गठन र राज्य सञ्चालनको अभ्यास बोकेर मैदानमा उत्रिएका छन् । हो, पाका पुस्ताको कदर गर्न सक्नु पर्छ । मुलुकमा प्रजातन्त्र, लोकतन्त्र–गणतन्त्र स्थापना गरी यहाँसम्म आइपुग्दा पुराना दलका पाका नेताको सङ्घर्ष स्तुत्य छ । शासनसत्तामा भने उनीहरू चुकेकै हुन् । जनताले अपेक्षा अनुसारको लाभ लिन नसकेकै हुन् ।
चुनाव प्रचारप्रसारका क्रममा देखिएका दृश्यले नयाँप्रति जनताको झुकाव बढेको पनि देखिन्छ । त्यो नै मतदान हो भन्न सकिन्न । नयाँप्रति जनताको झुकाव देखेर पुराना, अनुभवी दलका नेता संविधान निर्माण, सङ्घीयता कार्यान्वयन र राज्यका औपचारिक संरचना चलाएको श्रेय लिएर जनतामाझ गइरहेका छन् ।
नयाँ दल परिवर्तन, सुशासन, पारदर्शिता र वैकल्पिक राजनीतिका नारासहित आएका छन् । पुराना दलप्रतिको जनआक्रोश नै उनीहरूको मुख्य पुँजी बनेको छ । चुनौती उनीहरूका लागि पनि कम छैन । नाराभन्दा बाहिर निस्केर नीतिगत स्पष्टता, सङ्गठन क्षमता र दीर्घकालीन दृष्टि देखाउन नसके ‘नयाँ’ हुनु मात्र पर्याप्त हुँदैन । उनीहरूले पनि आफूलाई सिद्धान्त, सङ्गठन र विचारमा परिपक्व बनाउँदै जनतामाझ जान सक्नु पर्छ । पुराना दल सुधार र आत्मसमीक्षामा जान बाध्य हुन सक्छन् भने नयाँ दल व्यावहारिक राजनीति र जिम्मेवारीको कसीमा खारिनुपर्ने हुन्छ । फाइदा जनताकै हुनु पर्छ । उनीहरूले भावनामा होइन, काम, दृष्टि र विश्वसनीयतामा आधारित विकल्प रोज्न पाउनु पर्छ । जनताले विकल्प नयाँ वा पुरानाको अनुहारमा होइन, व्यवहारबाटै मात्र खोजिरहेका छन् ।
नेपालको राजनीतिक इतिहासमा आजको निर्वाचन नियमित प्रक्रिया मात्र नभई एउटा गहिरो ‘ऐतिहासिक मोड’ का रूपमा देखा परेको विश्लेषण भइरहेको छ । २०८२ भदौ–असोजको ‘जेनजी’ आन्दोलन र त्यसपछिको राजनीतिक उथलपुथलले नेपाली मतदाताको मनोविज्ञानलाई पूर्णतः परिवर्तन गरिदिएको छ । आममतदाताको परिवर्तित भावना अब पर्ख र हेरभन्दा पनि परिवर्तन र नतिजाको खोजीतर्फ केन्द्रित भएको छ । हाम्रा उम्मेदवार, चिनेका उम्मेदवार, पहिलेदेखि नै भोट दिँदै आएको पार्टी भन्ने विगतका निर्वाचनको शैली र भावना यस पटक पाइँदैन ।
आममतदातामा एउटा निश्चित दलप्रतिको ‘अन्धभक्तिको’ जुन प्रभाव विगतमा देखिन्थ्यो र त्यही कारण उनीहरू आफूलाई शक्तिशाली ठानिरहेका थिए आजको अवस्था ठिक विपरीत देखिन्छ । २०७९ सालको स्थानीय तह र आमनिर्वाचनदेखि नै मतदाताको भावनामा परिर्वतन आएको सङ्केत दिइसकेको थियो । यस पटक मतदाता विशेष गरी युवापुस्ता निकै सचेत र निर्मम देखिएका छन् । उनीहरू पुरानो त्याग र इतिहासको आधारमा नभई नीति, योजना, राजनीतिक छविका आधारमा भोट दिने मनस्थितिमा देखिन्छन् ।
मतदाता उम्मेदवारसँग नतिजामुखी माग र त्यसको लिखित प्रतिबद्धता खोजिरहेका छन् । आफ्ना समस्या समाधान नभए मतदानमै सहभागी नहुने कतिपयको अडान छ । यतिबेला आमनेपाली जनताले खोजेको शिक्षा, स्वास्थ्य र रोजगारीमा ठोस सुधार हो । बुढेसकालका सहारा बन्नुपर्ने सन्तान विदेश पलायन हुन बाध्य हुनु नपरोस्, आफ्ना उत्पादनले सहज बजार र उचित मूल्य पाउने वातावरण बनोस् भन्ने आकाङ्क्षा राख्ने मतदाताको सङ्ख्या ठुलो छ । नयाँ वा पुरानो जोसुकै सत्तामा आओस् ।
राजनीतिमा नीति, विचार, दृष्टिकोण र जनताको भावना बुझ्ने दल नै अगाडि रहन्छन् । कुनै पनि दल पुरानो हुँदैमा गलत र नयाँ हुँदैमा सही भन्ने पनि हुँदैन । विगत ३६ वर्षदेखि सत्ताको फन्को लगाइरहेका नेताहरूले देशलाई जसरी अघि बढाउन सक्थे त्यो नगरेको सर्वस्वीकार्य विषय हो । अझ दलीयकरणले छियाछिया भएको प्रशासनिक निकाय, शैक्षिक क्षेत्रका कारण विश्वास गर्नै नसकिने अवस्था आएको हो । त्यही कारण यस पटकको चुनावी घोषणापत्रमा कतिपय दलले दलीयकरणविहीन प्रशासनिक सेवाको प्रतिबद्धता जनाएका छन् । यिनै पक्षबिचको रोचक भिडन्त चुनावमार्फत हुने छ ।
हुन त जेनजी आन्दोलनपछि धेरै दलले आफूलाई सुधारेको दाबी गरेका छन् । नेपाली कांग्रेसको एउटा समूहले त पार्टीको नेतृत्व परिवर्तन गरिदियो । कांग्रेसमा गगन थापा नेतृत्वमा आएपछि सो पार्टीको गुमेको साख फर्कने क्रममा रहेको र नयाँ नेतृत्वले निर्वाचनमा आफ्ना नयाँ नीति, कार्यक्रमबाट रिझाउने प्रयास पनि गरिरहेको छ । यो सकारात्मक पक्ष हो । विगतको राग अलापेरै आजीवन पद र प्रतिष्ठा पाइरहनु पर्छ भन्ने मान्यता भत्काउनै पर्छ । नेताहरूलाई देश र जनताप्रति इमानदार बन्न दबाब दिनै पर्छ । नेताहरूलाई दबाब दिने माध्यम पनि निर्वाचन नै हो ।
विषम परिस्थितिको उपजका रूपमा हुन गइरहेको निर्वाचनबाट आमजनताको अपेक्षा ठुलो छ । निर्वाचनपछि बन्ने संसद्ले जनअपेक्षा पूरा गर्न अहिले कायम रहेका कानुनी अड्चन फुकाउन नलागी राजनीतिक स्वार्थ र सौदावाजीमै रुमल्लिइरहने हो भने त्यसले झन् निराशा बढाउने छ । जेनजी आन्दोलन नै पनि आक्रोश र आशाको सम्मिश्रण थियो । त्यसमा बाहिरी शक्तिको घुसपैठ भयो, विध्वंस मच्चियो भन्नु एउटा पाटोबाट गलत होइन तर विद्यालय पढ्ने युवालाई सडकमा उत्रन बाध्य कसले पा¥यो र किन प¥यो ?
राजनीतिक अस्थिरताका कारण देशमा व्याप्त बेथिति र भ्रष्टाचारका कारण जनतामा एक प्रकारको आक्रोश छ । सुशासनको नारा भट्याएर कुशासन मात्र दिइरहेको जनताको आरोप छ । मुलुक चरम भ्रष्टाचारमा डुबेको आरोप मात्र नभएर यथार्थ हो । यही यथार्थमा टेकेर यस पटकको निर्वाचनमा ‘भ्रष्टाचार निवारण’ सबैभन्दा ठुलो चुनावी एजेन्डा बनेको छ । प्रायःजसो दलले विगतमा जस्तो सुशासन र राजनीतिक स्थिरताको नारा मात्र लेखेका छैनन्, काम गर्ने योजना नै समेटेका छन्, दलीय भागबन्डाको अन्त्य गर्ने प्रतिबद्धता पनि आएको छ । जनताले खोजेको यही हो ।
पहिलो पटक मतदान गर्न लागेका करिब आठ लाख नयाँ मतदाताले चुनावको नतिजालाई उलटपुलट पार्न सक्ने क्षमता राख्छन् । सबैले मान्नु पर्छ र आआफ्ना ठाउँबाट विगतका गल्ती स्वीकारेर सच्याउने जमर्को गर्नै पर्छ । आज हुने निर्वाचन नेपाली मतदाताको भावना ‘परम्परागत राजनीतिप्रति चरम असन्तुष्टि र नयाँ विकल्पप्रतिको तीव्र चाहना’ मा आधारित हो भन्ने बुझ्नै पर्छ । मतदाता अब दलको झन्डाभन्दा पनि उम्मेदवारको योग्यता र उसको योजनालाई तराजुमा राखेर मतदान गर्ने मनस्थितिमा छन् । निर्वाचन विगतको भारी र भविष्यको चासोका साथ आशा र भरोसाको मेरुदण्ड बनेको छ । आशा गरौँ, निर्वाचनबाट योग्य र सक्षम उम्मेदवार विजयी बनेर आउने छन् ।