• २१ फागुन २०८२, बिहिबार

व्यावसायिक कफी खेतीमा आकर्षण

blog

भोजपुर, फागुन २१ गते । केही समयअघिसम्म सामान्य कफीका बोट हुने भोजपुरमा अहिले यसको व्यावसायिक खेती सुरु भएको छ । बजारसम्मको पहुँच स्थापित भएपछि यहाँका किसान व्यावसायिक कफी खेती गर्न थालेका हुन् । अहिले यहाँका किसानको आयआर्जनको मुख्य माध्यम यही बनेको छ । उत्पादन भएको कफी घरबाटै बिक्री हुन थालेपछि किसानलाई बजार खोज्नुपर्ने झन्झट कम भएको छ भने आम्दानीसमेत बढेको छ ।

जिल्लाका हतुवागढी गाउँपालिकाका सिन्द्राङ, होम्ताङ, लुङ्गिन र लुङ्थुङ, रामप्रसाद राई गाउँपालिकाको खोक्सिका, आमचोक गाउँपालिका, पौवादुङमा गाउँपालिका तथा षडानन्द नगरपालिकालगायत क्षेत्रका किसानले कफी खेती विस्तार गर्दै आएका छन् । यी क्षेत्रको माटो, हावापानी र भौगोलिक बनावट कफी उत्पादनका लागि उपयुक्त मानिन्छ ।

कफी खेती विस्तारका लागि सङ्घीय सरकारको विशेष अनुदान तथा किसानको लागत साझेदारीमा चालु आर्थिक वर्षमा करिब तीन करोड ३० लाख रुपियाँ बराबरको कार्यक्रम सञ्चालन भइरहेको सुरेन्द्रकुमार उदासले जानकारी दिनुभयो । उहाँका अनुसार कफीका लागि उपयुक्त क्षेत्रको पहिचान गरी योजनाबद्ध रूपमा खेती विस्तार भइरहेको छ । नगरपालिकाका सबै १४ वटै वडामा कफी खेती प्रवर्धन कार्यक्रम सञ्चालनमा रहेका छन् ।

रामप्रसाद राई गाउँपालिका–८, खोक्सिकामा किसानले २२ रोपनी क्षेत्रफलमा सामूहिक कफी खेती सुरु गरेका छन् । मकै, आलु जस्ता परम्परागत बालीमा निर्भर किसान अहिले आयमूलक तथा निर्यातमुखी खेतीतर्फ उन्मुख भएका हुन् । खोक्सिका कफी खेतीका लागि उपयुक्त भूगोल भएको र अन्य बालीको तुलनामा कफीबाट राम्रो आम्दानी लिन सकिने स्थानीय कृषक मनोज राईले बताउनुभयो ।

यहाँ उत्पादन भएको कफी धरान, इटहरी, विराटनगर र काठमाडौँ हुँदै विदेशसम्म निर्यात हुने गरेको स्थानीय कफी व्यवसायीको भनाइ छ । विशेष गरी अर्गानिक कफीको अन्तर्राष्ट्रिय बजारमा राम्रो माग रहेको बताइएको छ । पछिल्लो समय किसान व्यावसायिक खेतीमा जुटेसँगै उत्पादनसमेत वृद्धि भएको कफी विक्रेता सुनील श्रेष्ठले जानकारी दिनुभयो ।