• २० फागुन २०८२, बुधबार

पर्सा–२ का नेकपा उम्मेदवार चौधरीसहित चार जना पक्राउ

blog

कन्हैयालाल केशरी
पर्सा, फागुन २० गते ।
जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरी बलको संयुक्त गस्ती टोलीले मङ्गलबार राति पर्सागढी गाउँपालिका–३, बढनियारबाट पर्सा क्षेत्र नं. २ का नेकपा उम्मेदवार मनोज चौधरीसहित चार जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदीप राज पाठकका अनुसार संयुक्त गस्तीका क्रममा उम्मेदवार चौधरी सवार बा १० च १२५० नम्बरको कारको डिक्कीमा शङ्कास्पद वस्तु फेला परेपछि चौधरीसहित अन्य तीन जनालाई नियन्त्रणमा लिइएको हो।

पक्राउ पर्नेहरूमा बारा जिल्ला प्रसौनी गाउँपालिका–४ का साहब आलम अन्सारी, धनुषाधाम नगरपालिका–९ का सुरज कार्की र पर्सागढी गाउँपालिका–३ का सत्यनारायण थारू रहेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसैगरी, संयुक्त सुरक्षा टोलीले मंगलबार राति वीरगञ्ज महानगरपालिका–१६, इनर्वाबाट नौ थान सुतली बम र सुँगुरको एउटा टाउकोसहित तीन जनालाई पक्राउ गरेको छ। सुरक्षाका कारण उनीहरूको नाम सार्वजनिक नगरिएको प्रहरीले जनाएको छ।
वीरगञ्जस्थित श्रीजंग नेपाली सेनाको टोलीले बरामद सुतली बम डिस्पोज गरेको जानकारी दिइएको छ।