• २९ चैत २०८२, आइतबार

सौन्दर्यीकरणका लागि गलेश्वरको सडकमा ‘स्लेट’ ढुङ्गा बिछ्याउन सुरु

blog

म्याग्दी,  फागुन २० गते ।  बेनी नगरपालिका–९, म्याग्दीको प्रमुख धार्मिक पर्यटकीयस्थल गलेश्वरको बजारभित्रको सडकमा ढुङ्गाको स्ल्याप बिछ्याउन थालिएको छ ।   

हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको साझा तीर्थस्थल मुस्ताङको मुक्तिनाथ प्रवेशद्वार मानिने गलेश्वरको बजारभित्रको सडक र पदमार्गलाई मौलिक, व्यवस्थित र सुन्दर बनाई पर्यटक र भक्तजन आकर्षित गर्न सौन्दर्यीकरण योजना सञ्चालन भएको हो ।  

रु ६४ लाख सात हजार लागत अनुमान गरिएको गलेश्वर बजार सौन्दर्यीकरण योजना निर्माणका लागि गत मङ्सिर महिनामा रिभर इडेग इन्जिनियरिङ एन्ड बिल्डर्सले ४८ लाख ७४ हजार २७७ मा ठेक्का सम्झौता गरेको थियो । 

योजनामार्फत गलेश्वर मन्दिरको प्रवेशद्वारदेखि बसपार्कतर्फ ढुङ्गा बिछ्याउने काम सुरु भएको बेनी नगरपालिका–९ का वडाध्यक्ष चक्र केसीले जानकारी दिनुभयो । गलेश्वर बजार सौन्दर्यीकरण योजना बेनी नगरपालिकाको गौरवको आयोजना हो । गलेश्वर शिवालय क्षेत्र विकास कोष र बेनी नगरपालिकाको लागत साझेदारीमा गत वर्षदेखि सुरु भएको यो योजनाले चालु आर्थिक वर्षमा पनि निरन्तरता पाएको छ । 

यस वर्ष दुई ९५ मिटर दूरी सडकमा एक हजार सात सय १८ दशमलव पाँच घनमिटर ‘स्लेट’ ढुङ्गा बिछ्याउने र ३० मिटर लामो नाली निर्माण हुने बेनी नगरपालिकाका सव इन्जिनियर मिलन केसीले बताउनुभयो । गत वर्ष गलेश्वर प्रवेशद्वारदेखि मन्दिरतर्फ १०६ मिटर दूरीमा सात हजार १०० घनमिटर ढुङ्गा बिछ्याउनुका साथै ५३ घनमिटर पर्खाल र २० मिटर पलम नाली निर्माण भएको छ ।  

सडकलाई सम्माउने, नाली र पर्खाल बनाएर भुइँमा ढलान र कालोपत्रको विकल्पमा दुई इञ्च बाक्लो ‘कटिङ’ ढुङ्गा बिछ्याएर सिमेन्टले जमाउने काम भैरहेको छ ।  मुक्तिनाथ र मुस्ताङ जाने आउने पर्यटक तथा भक्तजनलाई गलेश्वरमा भित्र्याउने र उनिहरूको बसाइ लम्बाउने उद्देश्यले सुरु गरिएको सौन्दर्यीकरणको योजनालाई निरन्तरता दिने वडाध्यक्ष केसीले बताउनुभयो । 

गलेश्वर बजारभित्रको सडकमा ढुङ्गा बिछ्याएपछि सार्वजनिक यातायातका साधन बजार बाहिरको कालीगण्डकी कोरिडोरको सडकबाट मात्र आवतजावतको व्यवस्था मिलाइने उहाँले बताउनुभयो । भुइँमा बिछ्याइने ढुङ्गामा असर नपर्ने गरे बजारभित्र निर्माण सामग्री र उपभोग्य सामग्री आपूर्तिका सवारीसाधन सञ्चालन गर्न मिल्ने गरी संरचनाको ढाँचा गरिएको छ । 

कालीगण्डकी नदी किनारमा नौ रोपनी क्षेत्रफलको एउटै विशाल चट्टानमाथि रहेको गलेश्वर मन्दिरमा पूजाआजा र दर्शन गर्नाले मनोकाङ्क्षा पूरा हुने र पुण्य मिल्ने धार्मिक विश्वास छ । हिन्दुधर्म ग्रन्थमा सतिदेवीको गला पतन भएर गलेश्वर नाम रहन गएको उल्लेख गरिएको यस मन्दिरमा साउन महिनाको सोमबार, बालाचर्तुदशी र शिवरात्रि पर्वमा विशेष मेला लाग्ने छ । दैनिक नित्य पूजाआजा हुने गर्छ । रासस