ठाकुरप्रसाद आचार्य
म्याग्दी, फागुन २० गते । बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदानका लागि मतदाताहरू गाउँफर्किन थालेका छन् । मतदाताहरू गाउँ फर्किन थालेपछि बेनी बजार सुनसान हुन थालेको छ ।
विभिन्न पेसा, व्यावसाय, रोजगारी र अध्ययनका लागि बेनीमा बसोवास गर्दै आएका सर्वसाधरणहरू भोलि हुने निर्वाचनबाट आफ्नो प्रतिनिधि चयन गर्न गाउँ फर्किन थालेपछि बजार सुनसान बन्दै गएको हो ।
हिजोसम्म बजारमा चहलपहल भए पनि बुधबार बिहानैदेखि सुनसान हुनथालेको छ । बजारमा रहेका विद्यालय,सरकारी कार्यालय, विभिन्न सङ्घसंस्थाका कार्यालयहरू आजदेखि बन्द भएका छन् । बजारमा सञ्चालित पसल तथा होटलहरू बन्द समेत आजदेखि बन्द हुनथालेका छन् । मतदाताहरू गाउँ पुग्न थालेपछि निर्वाचन अघि सुनसान भएका गाउँहरूमा यतिखेर चहलपहल बढेको छ ।
बेनीलगायत देशका विभिन्न सहरहरूमा बसोवास गर्नेहरू पनि मतदान गर्न गाउँ आउन थालेका छन् । निर्वाचन सम्पन्न गर्न मतदान स्थलमा पुगेका कर्मचारी र सुरक्षाकर्मीहरूका कारण पनि गाउँमा चहलपहल बढेको छ ।