कविराज घिमिरे
हिले, फागुन २० गते । निर्वाचन नजिकिँदै जाँदा धनकुटा बजार सुनसान बनेको छ । जिल्ला सदरमुकाममा बसोबास गर्ने राजनीतिक दलका नेताकार्यकर्ता तथा विद्यार्थीहरु मतदानका लागि गाउँ फर्किएपछि बजार सुनसान बनेको हो । त्यस्तै सदरमुकामका अधिकांश होटल तथा पसलहरू समेत बन्द हुन थालेका छन् ।
धनकुटामा कर्मचारी, विद्यार्थी तथा विभिन्न राजनीतिक दलका नेता कार्यकर्ताको बाक्लो उपस्थिति हुने गरेको थियो । अधिकांश विद्यार्थी अन्य जिल्ला तथा गाउँबाट अध्ययनका लागि धनकुटा बजारमा बस्दै आएका छन् । त्यस्तै, बाहिरबाट व्यापार–व्यवसाय गर्न आएका व्यापारी र रोजगारीका सिलसिलामा आएका कर्मचारीसमेत सदरमुकाममै बसोबास गर्ने गर्छन् ।
सोमबारदेखि नै धनकुटा बजारवाट गाउँघर फर्कन थालेका थिए बुधबारसम्ममा अधिकांश पसल समेत बन्द भएको स्थानीय खेम घिमिरे बताउनुहुन्छ । मतदानका लागि नागरिक आ–आफ्ना मतदान केन्द्रमा पुगेसँगै गाउँघरमा भने चहलपहल बढेको धनकुटा भिरगाउँका इश्वर थापा बताउनुहुन्छ ।
धनकुटामा भोजपुर, संखुनासभा, तेह्रथुम लगायत पूर्वी पहाडी जिल्लाका साथै तराईका केही जिल्ला र समग्र कोशी प्रदेश बाट विद्यार्थी अध्ययनका लागि आउने गरेका छन् । निर्वाचन नजिकिँदै जाँदा ती विद्यार्थीहरू मतदानका लागि आ–आफ्ना गाउँ फर्किएपछि बजार तथा चोक–चौतारा सुनसान बनेका छन् ।