• २० फागुन २०८२, बुधबार

मौन अवधिमा होहल्ला र नियम उल्लंघन गर्ने ३० जना पक्राउ

blog

बिष्णुप्रसाद पोखरेल
दमक, फागुन २० गते ।
प्रतिनिधिसभा निर्वाचनको मौन अवधि लागू भएसँगै आचारसंहिता विपरीत गतिविधि गर्ने तथा ट्राफिक नियम उल्लंघन गर्नेहरूमाथि प्रहरीले कडा निगरानी गरेको छ। झापाको दमक र बिर्तामोड क्षेत्रमा प्रहरीले सक्रियता बढाउँदै ३० जनालाई पक्राउ गरेको तथा नियम उल्लंघन गर्ने सवारीसाधन नियन्त्रणमा लिएको जनाएको छ।

मौन अवधिमा मादक पदार्थ सेवन गरी होहल्ला गर्ने र उच्छृंखल गतिविधिमा संलग्न रहेको आरोपमा एक महिलासहित ३० जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ। मंगलबार अबेर रातिसम्म प्रहरीले जाँच अभियान सञ्चालन गरेको थियो।

होली मनाउने बहानामा सार्वजनिक स्थलमा भाङ बिक्री गर्ने तथा शान्ति–सुरक्षामा खलल पुर्‍याउनेहरूलाई नियन्त्रणमा लिएर सम्झाइबुझाइ गरी आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार आचारसंहिता विपरीत कार्य गर्ने जो–कोहीलाई पनि पक्राउ गरी कानुनी कारबाही गरिनेछ।

प्रहरीका अनुसार दमकमा २४ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको छ। एउटै मोटरसाइकलमा तीन जना सवार रहेका, हेल्मेट प्रयोग नगरेका तथा स्वरूप परिवर्तन (मोडिफाइ) गरिएका सवारीसाधन नियन्त्रणमा लिइएको हो। यसैगरी बिर्तामोडमा ट्राफिक नियम उल्लंघन गर्ने १३ वटा मोटरसाइकल नियन्त्रणमा लिई कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

मौन अवधिमा मादक पदार्थ सेवन तथा राजनीतिक प्रचारप्रसार पूर्णतः निषेध भएकाले यस्ता गतिविधि गर्न नदिइने प्रवक्ता खड्काले बताउनुभयो। नियम उल्लंघन गर्ने जो–कोहीलाई कानुनी दायरामा ल्याइने उहाँले स्पष्ट पार्नुभयो।