वासुदेव शर्मा
जाजरकोट, फागुन १९ गते । आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदान केन्द्रमा खटिएका कर्मचारीले सर्वदलीय बैठक बोलाएका छन् ।
निर्वाचनलाई व्यवस्थित बनाउन मतदान सरोकारवालाको सुझाव लिन सर्वदलीय बैठक गर्न थालिएको हो । निर्वाचन आयोगले तोकेको मापदण्डका आधारमा सर्वदलीय सर्वपक्षीय बैठकको आव्हान गरिएको छ ।
मतदानको क्रममा नकारात्मक गतिविधिलाई नियन्त्रण गर्न स्थायीय सरोकारवालाको दायित्व हुने भएकाले दिउसो सर्वपक्षीय बैठकका लागि मतदान केन्द्रमा आउन सरोकारवालाहरूलाई बोलाइएको हो ।
निर्वाचनलाई सफलता पूर्वक सम्पन्न गर्न मतदान केन्द्रमा कर्मचारीसहित सुरक्षाकर्मी तैनाथ भएका छन् ।
बारेकोट गाउँपालिका ३ मुल्साम दिपेन्द्र मावि मुल्सामका मतदान अधिकृत भेजजङ्ग शाहले सडक नहुदाँ साढे २ घण्टामा पैदल हिडेर मतदान केन्द्रमा १८ गते बेलुका पुगेको बताउनुभयो ।
भौगोलिक बिकटता दुर्गम गाउँमा मोटर बाटो नपुगेका कारण पैदल हिँडेर मतदान केन्द्रमा पुगेर मङ्गलबार दिउसो सर्वदलीय सर्वपक्षीय बैठक गर्ने तयारी भइरहेको छ ।
त्यसका लागी सरोकारवाला, अधिकारकर्मी लगायतलाई खबर गरिएको छ । गाउँबस्तीका सर्वसाधारण काममा व्यस्त हुने भएकाले दुई बजेपछि बैठक हुने उहाँको भनाइ छ ।
त्यसैगरी जाजरकोटका १४७ वटा मतदान केन्द्रमा खटिएका निर्वाचन अधिकृत लगायत कर्मचारीले सरोकारवाला निकायसँग सर्वदलीय, सर्वपक्षीय बैठक बस्ने जनाएका छन् ।
सरोकारवाला सहित सर्वदलीय, सर्वपक्षीय बैठक गरि सोही अनुसार बुधबार मतदान स्थलको काम सम्पन्न गर्ने जनाएका छन् ।
मतदान केन्द्रमा खटिएका कर्मचारीले स्थानीय स्तरका सरोकारवाला, राजनीतिक दल लगायतसँग समन्वय सहकार्य गर्न थालेका छन् ।
निर्वाचनलाई भयरहित शान्तिपूर्ण रूपमा सम्पन्न गराउन मतदान केन्द्रमा खटिएका निर्वाचन अधिकृतले आग्रह गरेका छन् ।