• १९ फागुन २०८२, मङ्गलबार

सल्यानका मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी तैनाथ

blog

जिल्लाका सबै मतदान केन्द्रमा तैनाथ कर्मचारी तथा सुरक्षाकर्मी । तस्बिर : प्रतीक इच्छुक शर्मा

प्रतीक इच्छुक शर्मा
सल्यान, फागुन १९ गते ।
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सल्यानमा सम्पूर्ण तयारी पूरा भएको छ । जिल्लाका सबै मतदान केन्द्रमा कर्मचारी तथा सुरक्षाकर्मी पुगिसकेका छन् । मतदान स्थलमा पुगेर कर्मचारीहरूले सर्वदलीय बैठक आह्वान गर्दै अन्तिम तयारी अघि बढाएका छन् ।

जिल्लाका ११७ मतदान स्थलअन्तर्गत २०५ मतदान केन्द्रका लागि आवश्यक सम्पूर्ण निर्वाचन सामग्री सुरक्षित रूपमा पुगिसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालय सल्यानले जनाएको छ । कार्यालयका अनुसार मतदान स्थलमा निर्वाचनपूर्व गरिने व्यवस्थापन, सामग्री मिलान, मतदान कक्ष सज्जा लगायतका कार्य कर्मचारीहरूले तीव्र रूपमा गरिरहेका छन् ।

निर्वाचनका लागि जिल्लाभर ४३० जना मतदान अधिकृत तथा सहायक मतदान अधिकृत खटाइएको छ । सुरक्षा व्यवस्थापनका लागि नेपाली सेनाको टोली १३ स्थानमा परिचालन गरिएको छ भने एक हजार ४०६ जना म्यादी प्रहरीसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी करिब एक हजार सुरक्षाकर्मी परिचालन भएका छन् । सुरक्षाकर्मीहरूले पैदल, मोटरसाइकल तथा अन्य सवारी साधनमार्फत जिल्लाभर नियमित गस्ती गरिरहेका छन् ।

जिल्लाका ११७ मतदान स्थलमध्ये ४३ स्थललाई अति संवेदनशील र ५७ स्थललाई संवेदनशील सूचीमा राखिएको छ । सल्यानका प्रमुख जिल्ला अधिकारी महेन्द्रकुमार सापकोटाले स्थानीय प्रशासनले मतदान शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको जानकारी दिनुभयो ।

सल्यानमा कुल एक लाख ६२ हजार ४४९ मतदाता रहेका छन् । यस निर्वाचनमा १२ राजनीतिक दलका उम्मेदवार र दुई स्वतन्त्र गरी कुल १४ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

राजनीतिक दलतर्फ नेपाली कांग्रेसका केशबहादुर विष्ट, नेकपा एमालेका गुलाबजंग शाह, नेपाली कम्युनिस्ट पार्टीका रमेश मल्ल, राष्ट्रिय स्वतन्त्र पार्टीका ललितकुमार चन्द तथा नेकपा माओवादी का चन्द्रबहादुर खडका उम्मेदवार रहेका छन् ।

त्यसैगरी नेपाल मजदुर किसान पार्टीका लालबहादुर थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीका अनिसा नेपाली, नेसनल रिपब्लिकन नेपालका डिल्लीबहादुर घर्ती, संयुक्त नागरिक पार्टीका कालीदाश विक, जनमोर्चाकी कमला डाँगी, मङ्गोल नेसनल अर्गनाईजेसनका बालसिंह घर्ती तथा श्रम संस्कृति पार्टीका धनबहादुर बुढा चुनावी मैदानमा छन् । स्वतन्त्रतर्फ ध्रुवराज ओली र जुद्धकुमार सिंह उम्मेदवारका रूपमा प्रतिस्पर्धामा रहेका छन् ।