• १९ फागुन २०८२, मङ्गलबार

धनकुटाका सबै मतदान केन्द्रमा कर्मचारी र सामग्री पुगे

blog

धनकुटाको हिलेस्थित हिले मतदान केन्द्रमा कर्मचारी निर्वाचन सामग्री व्यवस्थापन गर्दै। तस्बिर : कविराज घिमिरे

कविराज घिमिरे
हिले, फागुन १९ गते ।
धनकुटाका सबै मतदान केन्द्रमा कर्मचारी तथा निर्वाचन सामग्री पुगेका छन्। जिल्लाका ११९ मतदान स्थलअन्तर्गत रहेका १६६ मतदान केन्द्रमा सोमबार साँझसम्म कर्मचारी र सामग्री पु¥याइएको निर्वाचन कार्यालय धनकुटाले जनाएको छ।

मतदान केन्द्रमा पुगेर सोमबार नै अनुसूची ३, ४, ६ र ७ टाँस गरिएको निर्वाचन कार्यालय धनकुटाका सूचना अधिकारी सुरज श्रेष्ठले जानकारी दिनुभयो। अनुसूची ३ मा मतदान केन्द्रको चार किल्ला निर्धारण, अनुसूची ४ मा मौन अवधिमा प्रचारप्रसार निषेध, अनुसूची ६ मा मादक पदार्थ प्रयोग तथा सेवन निषेध र अनुसूची ७ मा हातहतियार निषेधसम्बन्धी सूचना उल्लेख गरिएको छ।

मङ्गलबारदेखि मतदान केन्द्र निर्माणलगायतका थप तयारीका काम अघि बढाइने जनाइएको छ। प्रत्येक केन्द्रमा मतदान अधिकृत र सहायक मतदान अधिकृतसहित ६ जना कर्मचारी खटाइएको छ। जिल्लाका १६६ मतदान केन्द्र र दुई अस्थायी मतदान केन्द्र गरी कुल १ हजार २ जना कर्मचारी परिचालन गरिएको धनकुटाका मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र इङ्नामले जानकारी दिनुभयो।

निर्वाचन सुरक्षार्थ नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा ९८९ जना निर्वाचन प्रहरी पनि सोमबारदेखि नै खटिएका छन्। यस निर्वाचनमा धनकुटाका एक लाख १८ हजार ४२५ मतदाताले आगामी पाँच वर्षका लागि प्रतिनिधिसभामा आफ्नो प्रतिनिधि चयन गर्नेछन्। जिल्लामा १४ राजनीतिक दल र ३ स्वतन्त्र उम्मेदवार गरी कुल १७ जना चुनावी मैदानमा रहेका छन्।