• ३० चैत २०८२, सोमबार

कर्मचारी तीन दिन हिँडेर साइपाल

blog

साइपाल जाँदै गरेका कार्मचारी र सुरक्षाकर्मी

बुङ्गल समाचारदाता 

बझाङ, फागुन १९ गते । बझाङ जिल्लाको दुर्गम हिमाली क्षेत्र साइपाल गाउँपालिकाका मतदान केन्द्रमा निर्वाचन गराउन खटिएका कर्मचारी तथा सुरक्षाकर्मी तीन दिनसम्म पैदल हिँडेर कार्यक्षेत्रतर्फ प्रस्थान गरेका छन् । 

जिल्ला निर्वाचन कार्यालयका अनुसार साइपालका तीन मतदान केन्द्रमा खटिएका मतदान अधिकृत, सहायक कर्मचारी र सुरक्षाकर्मी निर्वाचन सामग्री बुझेर केही शनिबार र केही आइतबार र बाँकी रहेका सोमबार सदरमुकाम चैनपुरबाट हिँडेका हुन् ।  दुर्गम भूगोलका कारण सम्बन्धित केन्द्रसम्म पुग्न तीन दिनसम्म पैदल यात्रा गर्नुपर्ने भएकाले टोलीलाई समयमै पठाइएको मुख्य निर्वाचन अधिकृत सुवर्णमान बनेपालीले जानकारी दिनुभयो । 

जिल्ला निर्वाचन कार्यालयका अनुसार काँडा माध्यमिक विद्यालय, काँडा मतदान केन्द्रमा मतदान अधिकृत दीपकराज जोशी, धुली माध्यमिक विद्यालय, धुली मतदान केन्द्रमा खगेन्द्र चन्द तथा सामुदायिक भवन, एराङकुरीडाँडा मतदान केन्द्रमा दिनेशप्रसाद पण्डित आफ्ना सहायक मतदान अधिकृत, कर्मचारी र सुरक्षाकर्मीसहित शनिबार नै कार्य क्षेत्रतर्फ पठाएको हो । साइपाल–१, धलौन माध्यमिक विद्यालय धलौन वरिपरि मतदान केन्द्र र साइपाल–२ धलौन माध्यमिक विद्यालय धलौन मतदान केन्द्रका कर्मचारी भने आइतबार कार्यक्षेत्रतिर प्रस्थान गरेका थिए । 

बझाङमा निर्वाचनका लागि दुई अस्थायी र १८९ स्थायी मतदान केन्द्र तोकिएका छन् भने १३७ मतदान स्थल निर्धारण गरिएको छ । तीमध्ये तीन सामान्य, ४९ संवेदनशील र ८५ अति संवेदनशील श्रेणीमा राखिएका छन् । जिल्ला कारागार र जिल्ला समन्वय समितिको कार्यालयमा अस्थायी मतदान केन्द्र स्थापना गरिने निर्वाचन कार्यालयले जनाएको छ । दुर्गम भूगोल तथा सीमित यातायात सुविधाका कारण साइपाल क्षेत्रमा निर्वाचन सामग्री ढुवानी र जनशक्ति परिचालन चुनौतीपूर्ण हुने गरेको छ । निर्वाचनलाई शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गर्न प्रशासनले आवश्यक सुरक्षा व्यवस्था मिलाएको जनाएको छ ।