• १९ फागुन २०८२, मङ्गलबार

सप्तरीमा होलीको रौनक, मधेशमा दुई दिन उत्सव

blog

सुधा देव
भारदह (सप्तरी), फागुन १९ गते ।
सप्तरीसहित तराई–मधेशका जिल्लामा होली अर्थात् फागुपूर्णिमा सोमबारदेखि सुरु भएको छ। परम्पराअनुसार फागुन शुक्ल पूर्णिमाको राति होलिकाको प्रतिमा बनाई दहन गरिन्छ र भोलिपल्ट रङ र अबिर खेलेर होली मनाइन्छ। तर यस वर्ष चन्द्रग्रहणका कारण मधेशमा दुई दिन होली मनाइँदैछ।

मङ्गलबार साँझ ५ बजे चन्द्रग्रहण लाग्ने र बिहान १० बजेदेखि सुतक लाग्ने भएकाले केहीले मङ्गलबार र केहीले बुधबार होली मनाउने भएका छन्। राजदेवी मन्दिरका पण्डित भोलानाथ चौधरीका अनुसार साँझ ६ बजेर ३ मिनेटमा चन्द्रग्रहण समाप्त हुनेछ।

यस पर्वमा मालपुवा, खिर, विभिन्न फलफूल, मिठाइ, अबिर र रङ कुलदेवतामा चढाएर होली खेल्ने चलन रहेको राजविराज नगरपालिका–५ की ५० वर्षीया सुनिता देवले बताउनुभयो। हिमाल र पहाडमा आइतबार नै होली खेलिए पनि तराई–मधेशमा यसपटक दुई दिन मनाइँदैछ।

धार्मिक कथाअनुसार त्रेतायुगमा भगवान विष्णुका भक्त प्रह्लादलाई उहाँका पिता हिरण्यकश्यपको दबाबमा दिदी होलिकाले आगोमा जलाउन खोज्दा होलिका नै दहन भइन् भने प्रह्लाद सुरक्षित रहे। असत्य माथि सत्यको विजय र अधर्म माथि धर्मको जितको प्रतीकका रूपमा होली मनाउने परम्परा रहिआएको छ। स्थानीय विवेकानन्द मिश्रका अनुसार पहिलो दिन होलिका दहन र दोस्रो दिन विजय उत्सवस्वरूप रङ खेल्ने चलन छ। नेपालसँगै छिमेकी भारत मा पनि दुई दिन होली मनाइन्छ। जनकपुरमा अन्तरगृह परिक्रमा सम्पन्न भएपछि तेस्रो दिन होली मनाउने परम्परा छ।

पहिले होलीमा रातो अबिर मात्र प्रयोग गरिन्थ्यो। राजविराज–२ की ८० वर्षीया रुक्मिणी देवका अनुसार रातो रङ विजय र शुभताको प्रतीक हो। तर पछिल्लो समय रासायनिक पदार्थ मिसिएका हरियो, निलो लगायतका रङ प्रयोग हुँदा छाला र स्वास्थ्यमा समस्या देखिने भएकाले रसायनरहित रङ प्रयोग गर्नुपर्ने उहाँको सुझाव छ।

राजविराज नगरपालिका–७ की ७५ वर्षीया पूर्व शिक्षिका मञ्जु श्रेष्ठका अनुसार होली अनेकतामा एकताको प्रतीक पर्व हो। आपसी मनमुटाव अन्त्य गरी मेलमिलाप गर्ने अवसरका रूपमा यसलाई लिइन्छ। बालबालिकादेखि वृद्धवृद्धासम्म सबै उमेर समूहका मानिसले जातधर्मको भेदभाव नगरी सामूहिक रूपमा रङ र अबिर लगाउँदै मौलिक गीत र ‘जोगिरा’ गाएर होली खेल्ने चलन छ।

पहिले नेपाल र भारतमा मात्र सीमित रहेको होली अहिले देश–विदेशमा बसोबास गर्ने नेपाली र भारतीय समुदायसँगै विदेशी नागरिकले पनि उत्साहका साथ मनाउन थालेका छन्। होलीसँगै वसन्त ऋतुको आगमन हुने जनविश्वास रहेको छ।