विष्णुप्रसाद पोखरेल
दमक, फागुन १९ गते । आगामी बिहीबार हुने निर्वाचनका लागि झापाका पाँच वटै निर्वाचन क्षेत्रमा सम्पूर्ण प्रकारले आवश्यक प्रशासनिक र प्राविधिक तयारी पूरा भएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयले आवश्यक सबै प्रबन्ध मिलाएको जनाइएको छ ।
जिल्लाका पाँच वटै निर्वाचन क्षेत्रका अधिकांश मतदान अधिकृतले निर्वाचनका लागि आवश्यक मतपत्र, मतपेटिका, स्वस्तिक छापसहितका ६० भन्दा बढी प्रकारका सामग्री बुझिसकेको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालले बताउनुभयो ।
झापाको क्षेत्र नं. ५ अन्तर्गत दमकबाहेक अन्यत्र सबै ठाउँका मतदान अधिकृतले आवश्यक सामग्री बुझिसकेको नेपालको भनाइ छ । उहाँका अनुसार सामग्री बुझिलिएसँगै मतदान अधिकृत, सहायक मतदान अधिकृत र कर्मचारीको टोली आआफ्नो तोकिएको मतदान केन्द्रमा पुगेर काम सुरु गरेका छन् ।
मतदान अधिकृत तथा कर्मचारी टोलीले मतदान स्थल निर्माण गर्ने, सर्वदलीय बैठक आह्वान गर्ने र मतदातालाई मतदान गर्ने सही तरिकाबारे जानकारी दिने कार्य सुरु गर्ने नेपालले बताउनुभयो । झापाका पाँच वटै निर्वाचन क्षेत्रका २८५ वटा मतदान स्थलमा ८१५ वटा मतदान केन्द्र कायम गरिएको छ ।
झापाका मुख्य निर्वाचन अधिकृत उमेशप्रसाद लुइँटेलका अनुसार मतदान अगाडि पूरा गर्नुपर्ने सबै प्रव्रिmया पूरा भएको छ । उहाँले भन्नुभयो, “यहाँ ढुक्कका साथ मतहाल्ने वातावरण बनेको छ । मतदान अधिकृतसहित आवश्यक कर्मचारी मतदान केन्द्रमा पुगेर सबै वस्तुस्थिति बुझ्ने काम सकिएको छ ।”
सुरक्षाव्यवस्था कडा
यसैबिच यहाँको सुरक्षाव्यवस्थालाई अत्यन्तै कडा पारिएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायले एकीकृत सुरक्षा योजना अन्तर्गत काम गरिरहेको झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताउनु भयो ।
प्रमुख जिल्ला अधिकारी गेलालका अनुसार झापाका कुल २८५ मतदान स्थलमध्ये ९५ वटालाई अति संवेदनशील सूचीमा राखिएको छ । प्रजिअ गेलालले १४७ स्थल संवेदनशील र ४३ वटा मतदान स्थल सामान्य रहेको जानकारी दिनुभयो । जिल्लाभर कुल ८१५ वटा मतदान केन्द्र तोकिएका छन् ।
निर्वाचन सुरक्षाका लागि एकीकृत कमान्ड अन्तर्गत नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र म्यादी प्रहरी परिचालन गरिएको छ । झापामा करिब १० हजार सुरक्षाकर्मी खटिएका छन् । गेलालले भन्नुभयो, “झापामा सुरक्षामा कुनै चिन्ता गर्नुपर्ने अवस्था छैन ।”
झापाका पाँच वटा निर्वाचन क्षेत्रमा आवश्यकताका आधारमा सुरक्षाकर्मी परिचालन भइसकेका छन् । केही दिनयता झापाका प्रमुख बजार तथा ग्रामीण क्षेत्रमा समेत नेपाली सेनासहितको सुरक्षा संयन्त्रले गस्ती बढाएको छ ।
भारतसँग सीमा जोडिएका पालिका तथा मतदान केन्द्र र आसपासमा पनि सुरक्षाकर्मीको विशेष सतर्कता रहेको छ । मङ्गलबार बिहानबाट भारतसँगको सबै सीमानाका बन्द गरिने छ । सीमामा नेपाल र भारतका सुरक्षाकर्मीले समन्वय गरेर अहिले पनि कडाइ गरिरहेका छन् । मतदातामा सुरक्षाको प्रत्याभूत हुने गरी सुरक्षा व्यवस्था मिलाइएको गेलाले जानकारी दिनुभयो ।