निर्वाचन र लोकतन्त्र एकअर्काका पूरक हुन् । लोकतन्त्र नभई निर्वाचन हुँदैन । निर्वाचन नभई लोकतन्त्र रहँदैन । निर्वाचन लोकतन्त्रको सुन्दर उपहार हो । निर्वाचन लोकको आकाङ्क्षा र आवश्यकता अभिव्यक्त गर्ने सर्वोत्कृष्ट माध्यम हो । निर्वाचन नागरिकको सार्वभौमसत्ताको परिचायक हो । निर्वाचन नागरिकको प्रतिनिधि छनोट गर्ने मौलिक अधिकार हो । निर्वाचन मतपत्रका माध्यमबाट मत प्रकट गर्ने अवसर हो । निर्वाचन केवल राजनीतिक प्रक्रिया र प्रावधान मात्र होइन, यो त लोकतन्त्रको संरक्षक र संवर्धक पनि हो । धेरैले निर्वाचनलाई अधिकारका रूपमा मात्र परिभाषित गरेका छन् तर निर्वाचन नागरिकको अधिकार मात्र होइन, कर्तव्य पनि हो । मतपत्रका माध्यमबाट जनताको मत प्रकट हुन्छ । मतपत्रका पत्र पत्रमा जनताका आकाङ्क्षा र आवश्यकता प्रतिविम्बित हुन्छन् । तिनै मतपत्रको छापबाट जनताको प्रतिनिधि चयन हुन्छ र तिनै प्रतिनिधिले जनताको सार्वभौमसत्ता र राजकीय सत्ताको प्रतिनिधित्व गर्छन् ।
नेपालमा २०४६ सालको आन्दोलनको सफलतापश्चात् २०४७ सालमा जारी भएको संविधानका आधारमा २०४८ सालमा बहुदलीय संसदीय व्यवस्था अन्तर्गत निर्वाचन भएको हो । त्यसयता नेपालमा संसदीय निर्वाचनलाई संवैधानिक प्रक्रियाको एउटा आवधिक र व्यावहारिक प्रयोगका रूपमा मानिँदै आएको छ । तर संसदीय आमनिर्वाचन एक आवधिक संवैधानिक प्रक्रिया मात्र नभएर राष्ट्रिय नागरिक चाडका रूपमा स्थापित भइसकेको छ । नेपालमा संसदीय निर्वाचनहरू २०४८, २०५१, २०५६, २०६४, २०७०, २०७४ र २०७९ साल गरी सात पटक सम्पन्न भइसकेका छन् । त्यसमध्ये २०६४ र २०७० सालका निर्वाचन संविधान सभाका लागि भएका थिए । त्यसो त २०१५ सालमा नै नेपालमा पहिलो संसदीय निर्वाचन सम्पन्न भएको हो ।
यी निर्वाचनका माध्यमबाट नेपाली नागरिक सचेत र सजग भइसकेका छन् । नेपालीले विभिन्न मुलुकमा भर्खरै सम्पन्न भएका सफल र शान्तिपूर्ण निर्वाचन एवं तिनबाट सरकारको निर्माण भइरहेका समाचारलाई पनि नजिकबाट नियालेका छन् । मित्रराष्ट्र जापानमा माघ महिनामा सफलतापूर्वक संसदीय निर्वाचन सम्पन्न भई सरकार निर्माण भइसकेको छ । छिमेकी मित्रराष्ट्र बङ्गलादेशमा यही महिना सफलतापूर्वक निर्वाचन सम्पन्न भई नवगठित सरकारले कार्यारम्भ गरिसकेको छ । त्यसै गरी नेपालीले तीन दक्षिणपूर्वी एसियाली राष्ट्रहरू थाइल्यान्ड, म्यान्मार र लाओसमा भएका निर्वाचन पनि अवलोकन गरेका छन् ।
जब जब नेपालमा आमनिर्वाचन आउँछ गाउँबस्ती र सहरमा झन्डा, ध्वजापताका ब्यानर, गीत, नृत्य, सभा, बैठक, छलफल र बहसहरू सुरु हुन्छन् । यसले झुपडीदेखि महलसम्म, गाउँदेखि सहरसम्म, पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म देशभरि एक किसिमको लहर, रहर, रौनक र चहलपहल ल्याउँछ । त्यसैले आमनिर्वाचन नेपालमा एउटा राष्ट्रिय चाड, लोकतान्त्रिक चाड र नागारिक उत्सवका रूपमा स्थापित भएको पाइन्छ । गत भदौ महिनामा नेपालमा नवयुवको व्रिदोहको उभारले ल्याएको राजनीतिक परिवर्तनलाई संस्थागत गर्ने उद्देश्यले फागुन २१ गते संसदीय निर्वाचन हुन लागेको छ । यो निर्वाचनलाई पनि नेपाली नागरिकले एक महत्वपूर्ण राष्ट्रिय चाड र लोकतान्त्रिक उत्सवका रूपमा लिएको पाइन्छ ।
यो निर्वाचन निश्चय पनि विशिष्ट राजनीतिक परिस्थितिमा सम्पन्न हुन लागेको छ । यो सङ्क्रमण कालमा निर्वाचनको वातावरण निर्माण गर्नु पनि चुनौतीपूर्ण थियो । साबिक राजनीतिक दल, विद्रोह गरेको नयाँ पुस्ता, विद्रोहबाट सिर्जित नवीन परिस्थितिका कारण मुलुकमा सङ्क्रमण काल लामो समयसम्म कायम रहने संशयको अवस्था विद्यमान थियो । राजनीतिक दल, समूह र शक्तिहरूलाई सन्तुलित र संयमित राख्दै नेपालप्रति अन्तर्राष्ट्रिय समुदायलाई पनि सुझबुझपूर्ण सम्बन्ध कायम गरेर अघि बढ्नु सजिलो अभिभारा थिएन । प्रत्यक्षतर्फ १६५ जना र समानुपातिकतर्फ ११० जना गरी कुल २७५ जना सांसद निर्वाचित गर्ने यो विगतका जस्तै संसदीय निर्वाचित भए पनि अरू आमनिर्वाचनभन्दा यो निर्वाचन केही फरक र विशिष्ट प्रकारको देखिन्छ ।
लोकतन्त्रको आधारशिला सर्वभौम नागरिक हुन् । लोकतन्त्रमा मुलुकको सार्वभौमसत्ता र राजकीयसत्ता आमनागरिकमा अन्तनिर्हित सार्वभौम नागरिकले आवधिक निर्वाचनका माध्यमबाट पाँच वर्षका लागि नीतिनियम निर्माण गर्ने संसद् र शासनसत्ता सञ्चालन गर्ने सांसदहरूको चयन गर्छन् । यसरी आमनिर्वाचन सांसदहरूको छनोट गर्ने प्रक्रियाको अवलम्बन मात्र नभएर लोकतन्त्र संस्थागत गर्ने र आफ्ना सार्वभौम प्रतिनिधिमार्फत आफ्ना आकाङ्क्षा र आवश्यकता अभिव्यक्त गर्ने माध्यम हो । अहिलेको आमनिर्वाचनबाट सार्वभौम नेपाली नागरिकले मुलुकमा बहुदलीय लोकतान्त्रिक प्रणालीलाई संस्थागत गरी लोकतान्त्रिक मूल्य र मान्यताको प्रवर्धन गर्दै संसद्का माध्यमबाट जनमुखी कानुनको निर्माण र जननिर्वाचित सरकारका माध्यमबाट मुलुकमा शान्ति, समृद्धि, सुशासन र स्थायित्व ल्याउने माध्यमका रूपमा आत्मसात् गरेका छन् ।
बहुप्रतीक्षित संसदीय निर्वाचनमा एक करोड ८९ लाख तीन हजार ६८९ कुल मतदाता रहेका छन् । मतदाता सङ्ख्यामा पनि महिला र पुरुष हाराहारी सङ्ख्यामा छन् । पुरुष ९६ लाख ६३ हजार ३५८ बालिग मतदाता रहेकोमा ९२ लाख ४० हजार १३१ जना महिला मतदाता छन् । यस पटकको आमनिर्वाचनमा प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणाली गरी कुल छ हजार ५४१ जना उम्मेदवार मैदानमा उत्रिएका छन् । प्रत्यक्षतर्फ तीन हजार ४०६ जना उम्मेदवार छन् भने समानुपातिकतर्फ तीन हजार १३५ जना उम्मेदवार चुनावी मैदानमा खडा भएका छन् । राजनीतिक दलहरूले यसअघि नै महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेशी, थारू, मुस्लिम र पिछडिएको क्षेत्रका क्लस्टरका आधारमा समानुपातिक प्रणालीतर्फको बन्दसूची बुझाइसकेका छन् । प्रत्यक्षतर्फ खडा भएको उम्मेदवारमध्ये तीन हजार १७ पुरुष र ३८८ जना महिला उम्मेदवार छन् भने समानुपातिकतर्फ एक हजार ७३ पुरुष र एक हजार ३६३ महिला उम्मेदवार छन् । यस आमनिर्वाचनमा सहभागी हुन राजनीतिक दलहरूले विशेष उत्साह देखाएका छन् । निर्वाचनमा प्रमुख राजनीतिक दलहरूसँगै नयाँ राजनीतिक दलहरूले पनि सहभागी हुने अग्रसरता देखाएका छन् । नयाँ र पुराना गरी ६५ वटा राजनीतिक दल प्रत्यक्षतर्फको निर्वाचनमा खडा भएका छन् । ६५ वटा राजनीतिक दलको सहभागिता हुनु एउटा लोकतान्त्रिक राष्ट्रिय चाडकै रूपमा यो निर्वाचन स्थापित हुनु हो ।
निर्वाचनमा युवा पुस्ताका उम्मेदवारको उत्साहपूर्ण सहभागिताले पनि मुलुकमा लोकतान्त्रिक संसदीय व्यवस्था संस्थागत गर्न र मुलुकलाई विकास, निर्माण, सुशासन र समृद्धिको मार्गमा लैजान युवा प्रतिबद्ध रहेको अर्थमा लिन सकिन्छ । ५० वर्षमुनिका दुई हजार ९०२ जना युवा उम्मेदवारको सहभागिताले निर्वाचनलाई युवामय बनाएको छ । प्रत्यक्षतर्फ मात्रै एक हजार ५७ जना युवा उम्मेदवार उम्मेदवार छन् भने समानुपतिकतर्फ एक हजार ८४५ जना युवा उम्मेदवार छन् । प्रत्यक्षतर्फ ३० वर्षमुनिका २०१ जना र समानुपातिकतर्फ १६८ जना युवा उम्मेदवार हुँदा लोकतन्त्रप्रति र मुलुकको शासन र सुशासनप्रति युवाको चाख र चासो बढेको अर्थमा बुझ्न सकिन्छ । त्यसै गरी ३० देखि ३९ वर्षभित्रको ७४९ युवा प्रत्यक्षतर्फ र ६८६ युवा समानुपातिकतर्फ गरी कुल एक हजार ४३५ युवा उम्मेदवार छन् । ४० देखि ४९ वर्ष उमेर समूहका प्रत्यक्षतर्फ नौ हजार ६६ र समानुपातिकतर्फ ९९१ गरी कुल दुई हजार ६८ जना युवा उम्मेदवार छन् ।
निर्वाचनले संविधानको समावेशीको अवधारणालाई पनि आत्मसात् गरेको पाइन्छ । खसआर्य समूहमा ३४.५० प्रतिशत, आदिवासी जनजाति समूहमा २७.३० प्रतिशत, मधेशी समूहमा २४.८७ प्रतिशत, दलित ६.७५ प्रतिशत, मुस्लिम ३.९९ प्रतिशत र थारू २.५८ प्रतिशत उम्मेदवार छन् । प्रदेशगत दृष्टिबाट हेर्दा कोशी प्रदेशको प्रतिनिधि सभाको कुल २८ सदस्यका लागि ४९५ उम्मेदवार छन् भने मधेश प्रदेशका ३२ सदस्यका लागि उम्मेदवार कुल एक हजार २७ जना उम्मेदवार खडा भएका छन् । त्यसै गरी बागमती प्रदेशको ३३ सदस्यका लागि ६८९, गण्डकी प्रदेशका १८ सदस्यका लागि २३४, लुम्बिनी प्रदेशका २६ सदस्यका लागि कुल ५८२, कर्णाली प्रदेशका १२ सदस्यका लागि कुल १३१ र सुदूरपश्चिम प्रदेशको १६ सदस्यका लागि कुल २०६ जना उम्मेदवार छन् । सबैभन्दा बढी उम्मेदवार मधेश प्रदेशमा छन् ।
नवयुवाको विद्रोहपछि हुनलागेको यो आमनिर्वाचनमा सहभागी हुन विदेशमा रहेका करिब दुई लाख नेपाली स्वदेश फर्किने अनुमान गरिएको छ । फागुनको दुई साताभित्र ६२ हजार ९१३ जना नेपाली निर्वाचनमा मतदान गर्न स्वदेश आएका छन् । अध्यागमन विभागको तथ्याङ्कका आधारमा माघ महिनामा ९३ हजार ३२८ नेपाली स्वदेश फर्केका छन् । तीमध्ये अधिकांश निर्वाचनलाई लक्ष्य गरेर नेपाल आएको बुझिन्छ । अध्यागमन विभागले दैनिक पाँच हजारभन्दा बढी नेपाली चुनावमा मतदान गर्ने उद्देश्यले स्वदेश फर्किने गरेको जनाएको छ । संयुक्तराज्य अमेरिका, बेलायत, जापान र अस्ट्रेलियालगायत विभिन्न मुलुक तथा युरोप, मध्यपूर्व र अन्य देशमा रहेबसेका नेपाली यस बहुप्रतीक्षित निर्वाचनमा मतदान गर्न स्वदेश आइरहेका छन् । चुनावमा भाग लिन आएका यी नेपालीमा पनि युवाकै बाहुल्य देखिन्छ ।
शान्तिपूर्ण, निष्पक्ष, धाँधलीरहित र भयरहित वातावरणमा निर्वाचन गराउन निर्वाचन आयोग सक्षम र तत्पर रहेको र त्यसका लागि सम्पूर्ण तयारी पूरा गरिसकेको छ । मुलुकका १० हजार ९६७ मतदानस्थलमा निर्वाचन सामग्री पुगिसकेका छन् । निर्वाचन र मतदानस्थल सुरक्षाका लागि नेपाली सेनाका ७९ हजार ७२७, नेपाल प्रहरीका ७५ हजार ७९७, सशस्त्र प्रहरी बलका ३४ हजार ५७६ र राष्ट्रिय अनुसन्धान विभागको एक हजार ९२१ सुरक्षाकर्मी र कर्मचारी खटिएका छन् । त्यसै गरी निर्वाचन प्रयोजनका लागि एक लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी निर्वाचनस्थल पुगिसकेका छन् । निर्वाचन सञ्चालनका लागि दुई लाख १५ हजार कर्मचारी खटिएका छन् । राष्ट्रिय ३९ र अन्तर्राष्ट्रिय ३४ गरी जम्मा ४३ वटा संस्थाले निर्वाचनको पर्यवेक्षण गर्ने छन् । निर्वाचन आयोगले प्रत्यक्षतर्फ दुई करोड तीन लाख २३ हजार, समानुपातिकतर्फ दुई करोड लाख ३० हजार गरी कुल चार करोड लाख ५३ हजार मतपत्र छापेर मतदान केन्द्रमा पु¥याइसकेको छ । साथै आयोगले ११ लाख ९८ हजार आठ सय नमुना मतपत्र पनि मुद्रण गरी मतदाता शिक्षाका माध्यमबाट मतदातालाई निर्वाचनसम्बन्धी प्रशिक्षण प्रदान गरिसकेको छ ।
निर्वाचनमा भाग लिने नेपालीमा विभिन्न पुस्ताको रोचक मिश्रण रहेको छ । निर्दलीय पञ्चायती व्यवस्था भोगेको पुस्ता पनि छ । २०३६ सालमा आन्दोलन गरेको र २०३६ सालको जनमत सङ्ग्रहमा भाग लिएको पुस्ता पनि छ । २०४६ सालको जनआन्दोलन गरेको र त्यस आन्दोलनबाट बहुदलीय संसदीय व्यवस्था पुनस्र्थापना गरेको पुस्ता पनि छ । २०५२ सालमा आरम्भ भएको सशस्त्र युद्ध देखेभोगेको पुस्ता पनि छ । २०६२/६३ सालको दोस्रो जनआन्दोलनको उभार ल्याएको त्यसको बलमा गणतन्त्र स्थापना गरेको पुस्ता पनि सँगै छ । अनि २०८२ सालको जेनजी विद्रोहमा सहभागी पुस्ता पनि छ ।
नेपाली जनताले आफ्नो सार्वभौमसत्ता र राजकीयसत्ता निर्वाचनका माध्यमबाट अभिव्यक्त हुन्छ भन्ने बुझेका छन् । नेपालीले आफ्नो मौलिक अधिकारको एक महत्वपूर्ण माध्यमका रूपमा मताधिकारलाई स्थापित गरेका छन् । निर्वाचनका माध्यमबाट योग्य, उपयुक्त र सक्षम प्रतिनिधि छनोट गर्नु पर्छ । योग्य र वैध प्रतिनिधिबाट राज्यलाई आवश्यक पर्ने नीतिनियम निर्माण हुन्छ र सँगसँगै मुलुकको विकास निर्माणले पनि गति र दिशा लिने छ भन्ने कुरा नेपाली जनताले बुझेका छन् ।
लोकतन्त्रको संस्थागत विकास र स्थायित्वमा निर्वाचनको आवश्यकता हुन्छ । लोक र लोकतन्त्रकाबिच सेतुका रूपमा पनि निर्वाचन रहेको हुन्छ । निर्वाचन केवल प्राविधिक र आवधिक कुरा मात्र होइन, जनताको सहभागिता, संलग्नता, सक्रियता र सम्मानको भावना पनि हो । त्यसैले निर्वाचनमा हुने स्वच्छता, पारदर्शिता, निष्पक्षता र तटस्थताले पनि निर्वाचनप्रतिको विश्वसनीयता कायम गर्न मद्दत पुग्छ । विश्वसनीय निर्वाचनबाट मात्र मुलुकमा लोकतन्त्रको संरक्षण र संवर्धन गर्न योगदान पुग्छ । विशेष गरी युवा पुस्ता मुलुकमा सुशासन, समृद्धि र स्थायित्व ल्याउन पनि उत्तिकै प्रतिबद्ध छन् । राष्ट्रको सामाजिक, आर्थिक, शैक्षिक, प्राविधिक, औद्योगिक र व्यापारिक विकास गरी रोजगारी सिर्जनाका साथै आत्मनिर्भरताको अवलम्बन र स्वाभिमानको जगेर्ना गर्ने दिशामा नागरिक प्रयत्नशील छन् । तसर्थ यस निर्वाचनलाई आमनेपालीले आफ्नो लोकतान्त्रिक हकका रूपमा मताधिकार प्रयोग गर्दै लोकतन्त्रको रक्षा र संवर्धन एवं आफ्ना आकाङ्क्षा र आवश्यकतालाई पूरा गर्न योग्य, सक्षम र समर्थ प्रतिनिधि छनोट गर्ने सर्वोत्कृष्ट अवसरका रूपमा अङ्गीकार गर्नु पर्छ । निर्वाचनको सफलताबाट नेपाल र नेपालीको भविष्यमाथि उठिरहेका सन्देह र संशयको तुवाँलो हटी समुन्नत भविष्य निर्माणको उज्ज्वल रूपरेखा पनि तयार हुने छ ।