• १८ फागुन २०८२, सोमबार

भारत-क्यानाडा व्यापार ५० अर्ब डलर लक्ष्य

blog

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी/क्यानाडाका प्रधानमन्त्री मार्क जे कार्नी ।

नयाँदिल्ली, फागुन १८ गते । भारत र क्यानाडाले सन् २०३० सम्म द्विपक्षीय व्यापार ५० अर्ब अमेरिकी डलर पुर्याउने महत्त्वाकांक्षी लक्ष्य तय गरेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले क्यानाडाका प्रधानमन्त्री मार्क जे कार्नीको भारत भ्रमणलाई दुई देशबिचको सम्बन्धलाई ‘अर्को स्तर’ मा लैजाने अवसरका रूपमा चित्रित गर्दै आर्थिक साझेदारीलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

राष्ट्रिय राजधानीमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री मोदीले व्यापार र लगानीका सबै सम्भावना खुला गर्ने प्राथमिकता तय गरिएको बताउनुभयो । उहाँका अनुसार व्यापक आर्थिक साझेदारी सम्झौतालाई निकट भविष्यमा अन्तिम रूप दिने निर्णय भएको छ । उक्त सम्झौताले दुवै देशमा नयाँ लगानी र रोजगारीका अवसर सिर्जना गर्ने विश्वास व्यक्त गरिएको छ ।

प्रधानमन्त्री मोदीले क्यानाडाली पेन्सन कोषले भारतमा करिब एक खर्ब डलर लगानी गरेको उल्लेख गर्दै यसलाई भारतको आर्थिक विकासप्रति क्यानाडाको भरोसाको सङ्केत भन्नुभयो । दुवै देशका प्रधानमन्त्रीले व्यापारिक समुदायसँग पनि छलफल गर्ने कार्यक्रम रहेको र त्यसबाट आर्थिक सहकार्यको स्पष्ट मार्गचित्र तयार हुने बताइएको छ । प्रधानमन्त्री कार्नीको यो भारतको पहिलो आधिकारिक भ्रमण हो । 

उहाँ २७ फेब्रुअरीमा भारत आइपुग्नुभएको थियो । मुम्बई भ्रमणपछि राष्ट्रिय राजधानीमा उच्चस्तरीय भेटवार्ता सम्पन्न भएको हो । हैदराबाद हाउसमा भएको द्विपक्षीय वार्तामा व्यापार, लगानी र रणनीतिक सहकार्यलाई सुदृढ बनाउने विषयमा केन्द्रित छलफल भएको बताइएको छ । दुवै नेताको उपस्थितिमा विभिन्न समझदारी पत्रमा हस्ताक्षरसमेत भएका छन् ।

प्रधानमन्त्री मोदीले गत वर्ष क्यानाडामा सम्पन्न जी-७ शिखर सम्मेलनका क्रममा भएको भेटलाई स्मरण गर्दै द्विपक्षीय सम्बन्धमा नयाँ ऊर्जा र विश्वास थपिएको उल्लेख गर्नुभयो । भारत र क्यानाडाले लोकतान्त्रिक मूल्यमान्यता, विविधता र मानव कल्याणप्रतिको साझा दृष्टिकोणमा आधारित सहकार्य अघि बढाउने प्रतिबद्धता दोहोर्याएका छन् ।

विदेशमन्त्री एस जयशङ्करले पनि क्यानाडाका प्रधानमन्त्रीसँग भेट गरी अग्रगामी साझेदारी निर्माणप्रति प्रतिबद्धता व्यक्त गर्नु भएको छ । हालको भ्रमणलाई भारत-क्यानाडा सम्बन्ध सामान्यीकरण र रणनीतिक-आर्थिक सहकार्य विस्तारतर्फको महत्त्वपूर्ण मोडका रूपमा हेरिएको छ । प्रधानमन्त्री कार्नी आजै भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्किने कार्यक्रम रहेको छ । रासस/एएनआई