• १८ फागुन २०८२, सोमबार

दक्षिण सुडानमा एमएसएफका २६ जना कर्मचारी बेपत्ता

blog

नैरोबी, फागुन १८ गते । डक्टरस विदाउट बोर्डर्स (एमएसएफ) पछिल्लो समयमा दक्षिण सुडानमा हिंसा बढेपछि आफ्ना २६ जना कर्मचारी बेपत्ता भएको सोमबार बताएको छ । “लन्किएन र पियेरीमा काम गर्ने २९१ एमएसएफ सहकर्मी मध्ये २६ जना हिंसाका कारण बेपत्ता रहेको पुष्टि गर्दै चरम असुरक्षाको बिचमा उनीहरूसँग सम्पर्क गुमाएको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

एमएसएफले जोङ्लेई राज्यका लन्किएन र पियेरीमा चिकित्सा सेवा स्थगित गरेको छ, जहाँ डिसेम्बर देखि सरकार र विपक्षी सेना बिच ठूलो झडप भएको छ । लन्किएनमा रहेको एमएसएफ सुविधा फेब्रुअरी-३ मा सरकारी हवाई आक्रमणबाट प्रभावित भएको जनाइएको छ ।

धेरै कर्मचारी आफ्नो परिवारसँगै भाग्न बाध्य भई विस्थापित भएर खाना, पानीलगायतका आधारभूत सेवामा पहुँच नभएका दुर्गम क्षेत्रमा शरण लिइरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । विश्वको सबै भन्दा कान्छो देश दक्षिण सुडान सन् २०११ मा गठन भएदेखि नै गृहयुद्ध, गरिबी र ठूलो भ्रष्टाचारले ग्रस्त छ ।

संयुक्त राष्ट्र सङ्घले राष्ट्रपति साल्वा किर र उहाँका लामो समयका प्रतिद्वन्द्वी रीक मचारबिचको शक्ति बाँडफाँड सम्झौता गत वर्ष बिग्रँदै जाँदा “पूर्ण गृहयुद्ध” मा फर्कने चेतावनी दिएको छ । यसै बिच संयुक्त राष्ट्र संघले आइतबार सुडानको सीमा नजिकै अबीम्नोममा बढ्दो हिंसाका कारण दर्जनौँ नागरिक तथा स्थानीय अधिकारीको मृत्यु भएको बताएको छ । रासस/एएफपी