• १८ फागुन २०८२, सोमबार

मधेसको भविष्यका लागि सचेत भएर मतदान गर्न उपेन्द्र यादवको अपिल

blog

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव ।

सप्तरी, फागुन १८ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आम मतदातालाई केही तत्त्वद्वारा सुनियोजित ढङ्गले फैलाइएको भ्रम, हल्ला र अफवाहको षड्यन्त्रपूर्ण जालदेखि सचेत रहन आग्रह गर्नुभएको छ । सप्तरी निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहनुभएका अध्यक्ष यादवले चुनाव प्रचारको अन्तिम दिन मतदाताका नाममा सार्वजनिक अपिल जारी गर्दै सो आग्रह गर्नुभएको हो ।

निर्णायक क्षणमा जनताको मत कमजोर पार्न अनेक शक्ति सक्रिय रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, "योजनाबद्ध रूपमा फैलाइएको क्षणिक भ्रमले इतिहास बिर्सन लगाउन खोजिएको छ, तर सचेत मतदाता भ्रमित हुँदैनन्, उनीहरू आफ्नो सङ्घर्ष सम्झन्छन् ।"

अध्यक्ष यादवले क्षणिक प्रलोभन र अफवाहको लहरमा नबगी आफ्नो त्याग, इतिहास र स्वाभिमान सम्झन मतदातालाई आग्रह गर्नुभयो । "अधिकारको रक्षा गर्ने निर्णय लिनुहोस्; सचेत मत, बलियो मधेस र सुरक्षित भविष्य नै हाम्रो साझा सङ्कल्प हो," अपिलमा भनिएको छ ।

मधेसको अधिकार, पहिचान र स्वाभिमान कुनै दान नभई बलिदानको उपलब्धि भएको स्मरण गराउँदै अध्यक्ष यादवले यो अधिकार सडक र संसद्मा लडेर हासिल गरिएको बताउनुभयो । मधेसको दुःखसुख, आँसु र सङ्घर्षमा जसपा नेपालले निरन्तर साथ दिएको दाबी गर्दै उहाँले सङ्घीयता, स्वायत्तता र लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध रहन आह्वान गर्नुभयो ।

"आजको मतदान केवल प्रतिनिधि चयन मात्र होइन, यो मधेसको भविष्यको दिशानिर्देश पनि हो," उहाँले भन्नुभयो, "हामी चुक्यौँ भने अधिकार सङ्कुचित हुन्छ, यदि दृढ भयौँ भने इतिहास सुरक्षित रहन्छ ।" मधेसलाई कमजोर पार्ने षड्यन्त्र अन्ततः सङ्घीयता कमजोर पार्ने योजना भएको उल्लेख गर्दै उहाँले मधेस जागे मात्र लोकतन्त्र मजबुत हुने विश्वास व्यक्त गर्नुभयो ।