• १८ फागुन २०८२, सोमबार

बैतडीका मतदान अधिकृतद्वारा निर्वाचन सामग्री ग्रहण

blog

आवश्यक सामग्री बुझ्दै मतदान अधिकृत । तस्बिर : केशवराज भट्ट

केशवराज भट्ट 

बैतडी, फागुन १८ गते । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैतडीका २१५ वटै मतदान केन्द्रमा खटिने मतदान अधिकृतले आवश्यक सामग्री बुझेका छन् । निर्वाचन सामग्रीसहित कर्मचारी आजै सम्बन्धित मतदान केन्द्रतर्फ प्रस्थान गरेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी नरेश दयालले जानकारी दिनुभयो ।

मतदान केन्द्रमा पुगेपछि मतदान स्थल व्यवस्थापन, मतपेटिका र मतपत्रको सुरक्षा तथा मतदाता नामावली परीक्षणलगायतका तयारी सुरु गरिने जनाइएको छ । दुर्गम भूगोल भएका केन्द्रमा समयमै पुगेर आवश्यक व्यवस्था मिलाउन कर्मचारीलाई अग्रिम रूपमा पठाइएको कार्यालयले जनाएको छ ।

निर्वाचनका लागि छनोट गरिएका मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई दुई दिनसम्म विशेष तालिम प्रदान गरिएको थियो । तालिममा मतदान प्रक्रिया, मतपत्र व्यवस्थापन, सुरक्षा सतर्कता तथा निर्वाचन आचारसंहितासम्बन्धी विषयमा सहजीकरण गरिएको थियो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लामा निर्वाचन सम्पन्न गर्न कुल एक हजार २८८ जना कर्मचारी खटाइएको छ । प्रत्येक स्थायी मतदान केन्द्रमा तीन जना कर्मचारी रहने व्यवस्था मिलाइएको छ । बैतडीमा एक निर्वाचन क्षेत्र रहेको छ भने ११ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

जिल्लामा कुल एक लाख ५६ हजार ३७२ मतदाता रहेका छन् । जसमध्ये ७८ हजार ९८७ पुरुष, ७७ हजार ३८३ महिला र दुई जना अन्य मतदाता छन् । यस्तै, दुई हजार ७० जना अस्थायी मतदाता रहेका छन् ।

प्रमुख जिल्ला अधिकारी कृष्ण थापाका अनुसार बैतडीका ३३ मतदान केन्द्र अति संवेदनशील, २८ मतदान केन्द्र संवेदनशील र ६८ मतदान केन्द्र सामान्य अवस्थाका छन् । निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गर्न आवश्यक सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।