रेसुङ्गा समाचारदाता
रेसुङ्गा (गुल्मी), फागुन १८ गते । गुल्मीमा निर्वाचनको सबै तयारी पूरा भएको छ । निर्वाचनलाई स्वच्छ र भयरहित बनाउन जिल्लास्तरीय एकीकृत सुरक्षा योजना निर्माण गरेर कार्यान्वयन गरिएको सुरक्षा निकायले जनाएको छ ।
सुरक्षा संवेदनशीलताका आधारमा अति संवेदनशील ४८, संवेदनशील ५७ र सामान्य ४० मतदान केन्द्र छन् । नेपाल प्रहरीतर्फ एक हजार ६९५ र सशस्त्र प्रहरीतर्फ १७९ निर्वाचन प्रहरी छनोट भएर तालिम सञ्चालन सकेर परिचालन भएका छन् ।
जिल्ला कमान्ड पोस्ट तथा निर्वाचन सेल गठन, सबै सुरक्षा निकायमा निर्वाचन सेल स्थापना र नियमित बैठक भइरहेको जिल्ला सुरक्षा समितिका संयोजक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले जानकारी दिनुभयो । मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला निर्वाचन कार्यालयको सुरक्षा व्यवस्थापन, जिल्ला कारागार तथा विमानस्थलको सुरक्षा जिम्मेवारी नेपाली सेनाबाट भएको छ । नेपाली सेना अहिलेसम्म कुल १० ठाउँमा परिचालन भएको जानकारी दिएको छ ।
सशस्त्र प्रहरी बलका निर्वाचन सुरक्षा बेस दुई, स्ट्राइकिङ छ, मोबाइल टोली १६, निर्वाचन कार्यालय सुरक्षा तीनसहित कुल २७ युनिट परिचालनको योजना रहेको प्रमुख जिल्ला अधिकारी गैरेले बताउनुभयो । मतदान स्थलको संवेदनशीलता अनुसार नेपाल प्रहरीका २४ वटा मोबाइल टिम परिचालन हुने छन् । अनुमतिप्राप्त हातहतियार स्थानीय प्रहरी चौकीमार्फत ६४ थान सङ्कलन भएको छ । जेनजी आन्दोलनका व्रmममा विभिन्न कारागारबाट फरार दुई कैदी पव्रmाउ परेका छन् । सबै सुरक्षा निकायको संयुक्त गस्ती सञ्चालन भएको गैरेले बताउनुभयो ।
जिल्लामा कियाशील राजनीतिक दलबाट २० र स्वतन्त्रबाट २३ उम्मेदवारबाट मनोनयन दर्ता भएको छ । मतगणनाका लागि स्थान पहिचान र तयारी भएको छ । मतदान अधिकृत र सहायक मतदान अधिकृतको तालिम पनि सम्पन्न भइसकेको छ ।
निर्वाचनमा कुल एक हजार ७०८ कर्मचारी तथा सहयोगी र जिल्लाभर ८४६ स्वयंसेवक परिचालन हुने जिल्ला निर्वाचन कार्यालय गुल्मीका निर्वाचन अधिकारी ऋषि घिमिरेले जानकारी दिनुभयो ।
मतदान र मतगणना व्यवस्थापनका लागि आवश्यक पर्ने मतपत्रसहितका सामग्री निर्वाचन आयोगबाट प्राप्त भएको जानकारी उहाँले दिनुभयो । मतपेटिका ढुवानी, सुरक्षा गस्ती तथा मोबाइल टोलीका लागि आवश्यक सवारीसाधन व्यवस्थापनका लागि गृहकार्य भइरहेको घिमिरेले बताउनुभयो । अधिकांश मतदान स्थल राम्रा भएका र समस्या देखिएकामा मर्मतको काम गरिएको छ ।
सामाजिक सञ्जाल नियमनका लागि जिल्ला प्रहरी कार्यालयमा दुई जनशक्तिसहितको डेस्क स्थापना गरी कार्य भइरहेको छ । जिल्लाका १४५ मतदान स्थलमा स्वास्थ्यकर्मीसहित प्राथमिक उपचार डेस्क स्थापना गरिने सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले बताउनुभयो । गैरेका अनुसार मतदान स्थलमा हुने आकस्मिक घटनाका लागि उपचार गर्न जिल्लामा छुट्टै निर्णय गरेर उपचार कक्ष राखिएको हो ।
निर्वाचनमा जिल्लाका दुई वटा मतदान केन्द्रको नेतृत्व महिलाले गर्ने भएका छन् । रेसुङ्गा नगरपालिका–८ स्थित सिद्धबाबा माध्यमिक विद्यालयको ‘क’ केन्द्र र रेसुङ्गा नगरपालिका–५ स्थित जनसहयोग माध्यमिक विद्यालयको ‘ख’ केन्द्र छन् । यी दुई मतदान केन्द्रमा सुरक्षाकर्मीसहित सम्पूर्ण कर्मचारी महिला परिचालन गरिएको मुख्य निर्वाचन अधिकृत कार्यालय गुल्मीका सहायक मतदान अधिकृत कृष्णप्रसाद भट्टराईले जानकारी दिनुभयो । सिद्धबाबा माध्यमिक विद्यालयको ‘क’ केन्द्रमा मतदान अधिकृत सिर्जना मिश्र र रेसुङ्गा नगरपालिका–५ स्थित जनसहयोग माध्यमिक विद्यालयको ‘ख’ केन्द्रमा पुष्पा रायमाझी मतदान अधिकृत तोकिनुभएको छ ।