• १८ फागुन २०८२, सोमबार

होलीले आपसी सद्भाव कायम गर्छः मुख्यमन्त्री बानियाँ

blog

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ । तस्बिर : अनिल पराजुली

अनिल पराजुली    
हेटौँडा, फागुन १८ गते ।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले फागुपूर्णिमा (होली) पर्वले आपसी सद्भाव कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभएको छ । सोमबार होली पर्व २०८२ का अवसरमा शुभकामना सन्देश दिँदै उहाँले नेपालीहरूबिच आपसी सद्भाव, सहिष्णुता, आत्मीयता र बन्धुत्वको भावना अभिवृद्धि गरी राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन यस पर्वले सहयोग गर्ने उल्लेख गर्नुभयो ।

मुख्यमन्त्री बानियाँले नेपाली समाजमा असत्य माथि सत्य र खराब माथि असल पक्षको विजयका रूपमा होली पर्व मनाइने परम्परा रहेको बताउनुभयो । विविध संस्कृतिको इन्द्रेणीले सजिएको नेपाली समाजमा रङहरूको उल्लासपूर्ण पर्वका रूपमा फागुपूर्णिमा मनाइने गरिएको उहाँको भनाइ छ ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक विशेषताले भरिएको देश भएको उल्लेख गर्दै उहाँले अनेकतामा एकता र राष्ट्रिय स्वाभिमान नेपालीहरूको साझा पहिचान भएको बताउनुभयो । प्रत्येक जातजाति र समुदायका आ–आफ्नै मौलिक संस्कृति र परम्पराको सम्मान गर्दै बागमती प्रदेश सरकारले सबै समुदायबिच एकता र सहअस्तित्व कायम राख्न प्रतिबद्ध रहेको उहाँले स्पष्ट पार्नुभयो ।

प्रदेशभित्र बसोबास गर्ने विभिन्न जातजातिका संस्कृतिको संरक्षण, प्रवर्धन तथा विकासका लागि प्रदेश सरकार अभिभावकको भूमिकामा रहने विश्वाससमेत उहाँले व्यक्त गर्नुभयो । वसन्त ऋतुको आगमनसँगै प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा पर्व यस वर्ष हिमाली, पहाडी तथा तराईका जिल्लामा फागुन १८ र १९ गते विभिन्न रङ र अबिर खेली उत्साहपूर्वक मनाइँदै छ ।

मुख्यमन्त्री बानियाँले होलीको सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, आरोग्य र समृद्धिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ ।