• १८ फागुन २०८२, सोमबार

सबैको साथ पाउनेमा निर्वाचन आयोग विश्वस्त छ

blog

रामप्रसाद भण्डारी, कार्यवाहक प्रमुख निर्वाचन आयुक्त

फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनको सुरक्षा व्यवस्थापन, मतदाता शिक्षाको प्रचारप्रसार, निर्वाचन आचारसंहिता कार्यान्वयन तथा मतदानपछिको नतिजा सार्वजनिकको तयारीलगायत निर्वाचनका समग्र व्यवस्थापनका सन्दर्भमा केन्द्रित रहेर आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसँग गोरखापत्रका लागि लक्की चौधरीसूर्यप्रसाद पाण्डेले गरेको कुराकानीको सम्पादित अंश : 

प्रतिनिधि सभा सदस्य निर्वाचन सम्मुखमै आइसकेको छ । छोटो समयभित्रै गर्न लागिएको निर्वाचनको तयारी कस्तो छ ?

निर्वाचन व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भइसकेको छ । निर्वाचनका लागि आवश्यक सम्पूर्ण सामग्री जिल्ला निर्वाचन कार्यालय र निर्वाचन क्षेत्रलाई हस्तान्तरण गरिसकिएको छ । मतपत्रलगायतका निर्वाचन सामग्री मतदान अधिकृतले तालिम लिएर बुझिसक्नुभएको छ । सामग्री बुझेर उहाँहरू मतदान स्थल र केन्द्रतर्फ प्रस्थानसमेत गरिसक्नुभएको छ । निर्वाचनका लागि अबको काम भनेको मतदान, गणना र नतिजा सार्वजनिक मात्रै बाँकी हो । 

विगतका तुलनामा यस पटक छोटो समयमा निर्वाचनको तयारी गर्नु प¥यो । तैपनि आयोगले सुझबुझपूर्ण तरिकाबाट व्यवस्थित तयारी गरेको छ । यो कसरी सम्भव भयो ?

निर्वाचन आयोग जहिले पनि आवधिक निर्वाचनका लागि तयारी अवस्थामा रहन्छ । आवधिक निर्वाचन भनेको हरेक पाँच वर्षमा हुने हो । निर्वाचन हुनुभन्दा दुई वर्षअघिदेखि नै आयोग तयारीमा जुट्छ । 

सामान्यतया आवधिक निर्वाचन आयोगसँगको परामर्शमा सरकारले घोषणा गर्छ । उपनिर्वाचन सरकार आफैँले घोषणा गर्छ र त्यसको व्यवस्थापन आयोगले गर्छ । यस पटक यो विशेष अवस्थामा हुन लागेको निर्वाचन हो । गत भदौ २३ र २४ को युवा विद्रोहपछि सम्माननीय राष्ट्रपतिबाट भदौ २७ गते राति घोषणा भएको निर्वाचन हो यो । सोही घोषणा अनुसार निर्वाचन प्रक्रिया सुरु भएको हो । यो निर्वाचन सरकार वा आयोगसँग सोधेर घोषणा भएको होइन । संविधान संरक्षणको प्रयोजनका लागि संविधानमा थोरै ‘छेडखान’ गरेर प्रतिनिधि सभा सदस्य निर्वाचन घोषणा गरिएको हो भनेर राष्ट्रपतिले पनि पटक पटक भन्दै आउनुभएको छ । 

समयमै सम्पन्न गर्नैपर्ने भएकाले छोटो समयमा घोषणा भएर तयारी गर्नुपर्दा यो निर्वाचन केही पेचिलो पनि बन्यो । आयोगले विशेष तयारीका साथ सोच विचार गरेर व्यवस्थापन गर्दै अहिलेको समयसम्म आइपुगेको हो । 


निर्वाचन सफल बनाउन जनशक्ति व्यवस्थापन कसरी भइरहेको छ ?

देशव्यापी रूपमा आयोग आफैँले निजामती सेवामा कार्यरत कर्मचारी ल्याएर कार्य सम्पादन गराउने गर्छ । त्यसबाहेक निर्वाचनसँग सम्बन्धित विविध क्षेत्रका विज्ञसँग पनि आयोगले सहकार्य गरेर निर्वाचनको तयारी गर्छ । जिल्लाबाट मतदान केन्द्र र मतदान स्थलसम्म खटिने कर्मचारीको व्यवस्थापन जिल्ला निर्वाचन अधिकृत र जिल्लामा प्रमुख जिल्ला अधिकारीले मिलाउने गर्नुहुन्छ । कर्मचारी व्यवस्थापनका लागि आवश्यक पर्ने कार्यविधि, निर्देशिका हामी बनाइदिन्छौँ । उहाँहरूले सोही नीति अनुसार कर्मचारीको व्यवस्थापन गर्नुहुन्छ । यो काम सम्पन्न भइसकेको छ । 

अहिले दुई वटा मतपत्र हुन्छ, प्रत्यक्ष र समानुपातिक तर्फको । एउटा मतदातालाई दुइटै पत्रमा मत खसाल्न कति समय लाग्ला ?

दुई वटा मतपत्रमा मत खसाल्न एउटा स्वस्थ मतदातालाई दुई मिनेटसम्म समय लाग्न सक्छ । मतदान गर्न लाइनमा बस्ने मतदातालाई मतदान अधिकृतले सुरुमा पहिलो हुने निर्वाचित हुने (प्रत्यक्षतर्फ) को मतपत्र दिन्छ । त्यसमा स्वस्तिक छाप लगाएर मतदान गरेपछि समानुपातिक प्रणालीको मतपत्र दिइन्छ । समानुपातिक प्रणालीको मतपत्र प्रत्यक्षतर्फको भन्दा फरक हुन्छ । पहिलो मतपत्र खसालेपछि दोस्रो पत्र खसाल्न पनि खासै समय लाग्दैन । 

मत खसाल्न जाने सबै मतदाता एकै प्रकारका नहुन पनि सक्छन् । मतदानका लागि आफू कुन लाइनमा बस्ने, कसरी मतदान गर्ने भन्ने विषयमा पहिले नै जानकारी भइसकेकाले यसमा खासै समस्या हुँदैन । छिटोभन्दा छिटो मतदान प्रक्रियामा सहभागी भएर फर्कन सक्नुहुन्छ । 

विगतमा बदर मतको प्रतिशत उल्लेख्य थियो । यस पटक मतपत्र बदर कम गर्न मतदाता शिक्षालाई प्रभावकारी बनाइएको भनिएको छ । यसको तयारी कस्तो छ ?

यस पटक मतदानको प्रतिशत बढ्छ र बदर मतको प्रतिशत पनि घट्छ । किनभने निर्वाचनमा कति मतदाता सहभागी हुन पाए भन्ने विषय मुख्य हुन्छ । निर्वाचन कानुनले मतदानको मिति घोषणा भइसकेपछि मतदाता नामावली सङ्कलन गर्न कानुनले दिँदैन । यस पटक विशेष परिस्थितिमा हुन लागेको निर्वाचन भएकाले हामीले अध्यादेश ल्याएर मतदाता नामावली सङ्कलन ग¥यौँ । मतदाता नामावली सङ्कलन गर्दा उल्लेख्य मात्रामा युवा मतदाता थपिनुभएको छ, करिब १० लाख ।

विगतका निर्वाचनमा चासो नै नराख्नेहरू पनि यस पटक आफैँ निर्वाचन प्रक्रियामा सहभागी भएर राम्रा उम्मेदवार चयन गर्नु पर्छ भन्नेमा सचेत हुनुभएको छ । यति मात्रै होइन, उहाँहरू आफैँ मतदाताको ढोका ढोकामा गएर निर्वाचन प्रक्रियामा सहभागी हुन अनुरोध गर्दै हिँड्नुभएको छ, मतदान गर्ने तरिका सिकाइरहनुभएको छ । 

निर्वाचन आयोगले पनि मतदाता शिक्षालाई प्रभावकारी बनाउन स्वयंसेवीका परिचालन गरेको छ । स्थानीय तह अनुसार मातृ भाषामा मतदाता शिक्षा प्रदान गरिएको छ । सचेत नागरिक त्योभन्दा पनि बढी सचेत भएर लाग्नुभएको छ । मतदाताले मतदान गरेको मत सदर हुनु पर्छ भन्ने विश्वास छ, उहाँहरूलाई । 

मत बदरको प्रसङ्गमा एउटा उदाहरण दिन चाहन्छु । राष्ट्रिय सभा सदस्यको निर्वाचनमा प्रदेश सभाका सदस्य र स्थानीय निकायका प्रमुख सदस्य हुनुहुन्छ । उहाँहरू अरूले दिएको मतबाट निर्वाचित व्यक्तित्व हुनुहुन्छ । अरूले मत दिएर जिताएका व्यक्ति सहभागी भएको मतदानबाट पनि चार प्रतिशत बदर भयो । जुन निर्वाचन गत माघ ११ गते सम्पन्न भएको थियो । यसले के देखाउँछ भने मतदान गर्दा संयमता नअपनाउने, धैर्यधारण नगर्ने र हड्बडाउने प्रवृत्तिले मतदानको बदर प्रतिशत बढ्छ । मतदान गर्दा निर्वाचन चिह्नको बिचमा स्वस्तिक छाप हान्ने गर्नु पर्छ । मतपत्र पट्याउँदा होसियारी अपनाउनु पर्छ । मतदान गर्दा स्वस्तिक छाप प्रयोग नगरी हातैले ल्याप्चे लगाउनेसमेत पाइयो । यस पटक मतदाताले अलि बढी मतदाता शिक्षा प्राप्त गर्नुभएकाले बदर मत प्रतिशत घट्छ भन्ने विश्वास छ । 


कहिलेकाहीँ मतदान गर्ने क्रममा परिचयपत्रको समस्या पनि आउन सक्छ । यस्तो अवस्थामा मतदाताले के–के प्रमाण लिएर जाँदा सहजै मतदान गर्न पाउँछन् ?

पहिलो कुरा मतदाताले मतदाता परिचयपत्र पाउनुभएको छ भने कुनै समस्या भएन । मतदाता परिचयपत्र प्राप्त गर्नुभएको छैन वा हराएको छ भने मतदाताले अन्य पहिचानका आधारमा पनि मतदान गर्न पाउनुहुन्छ । मतदाताले नागरिकता, राष्ट्रिय परिचयपत्र, सवारीचालक अनुमतिपत्र, जग्गाधनी प्रमाणपुर्जा, नाता प्रमाणित प्रमाणपत्र वा तपाईलाई परिचय दिलाउने कुनै पनि प्रमाणलाई आधार मानेर निर्वाचन अधिकृतले मतपत्र दिनुहुन्छ । यसमा धेरै समस्या छैन । आयोगको सोच सबै जना मतदान प्रक्रियामा सहभागी हुन पाउनु पर्छ वा कोही पनि छुट्नु हुन्न भन्ने हो । 

नेपालको भौगोलिक अवस्था सबै ठाउँमा एकैनासको हुँदैन । दुर्गम क्षेत्रमा मतदातालाई धेरै समय लगाएर मतदान स्थलसम्म पुग्नुपर्ने हुन्छ । उहाँहरूको सहजताका लागि आयोगले कसरी व्यवस्थापन गरेको छ ? 

यस विषयमा आयोग सचेत छ । सकेसम्म दुर्गम क्षेत्रका मतदातालाई अप्ठ्यारो नहोस् भनेर मतदान केन्द्रको व्यवस्थापन गरेका छौँ । न्यूनतम एक हजार मतदाता भएका ठाउँमा हामीले मतदान स्थल तोकिदिएका छौँ । स्थान अनुसार आवश्यकता हुन सक्छ, जहाँ जे आवश्यकता पर्छ सोही अनुसार सहजीकरण गरिएको छ । 

त्योभन्दा महत्वपूर्ण विषय दुर्गम वा हिमाली भेगका बासिन्दा जाडो छल्न गाउँ छाडेर बेँसीतिर झर्ने गरेको पनि हामीले पाएका छौँ । मतदान केन्द्र माथि तर मतदाता तल हुनुहुन्छ भने यस्तो अवस्थामा मतदान गर्न सहज होस् भनेर उहाँहरू जहाँ बस्नुभएको छ, त्यहीँको मतदान स्थलमा मतदान गर्न पाउने व्यवस्था गरेका छौँ । उहाँहरू मेरो त मतदाता नामावली अर्कै गाउँमा छ, जान सकिएन भनेर बस्नु पर्दैन । जहाँ हुनुहुन्छ त्यहीँबाट मतदान गर्न पाउनुहुन्छ । 

कतिपय हिमाली क्षेत्रमा मतदातासँग सम्पर्क नहुने ठाउँ पनि छन् । यस्तो अवस्थामा हामीले हेलिकोप्टरमार्फत कर्मचारी लगेका छौँ । मतदान सकिएपछि हेलिकोप्टरमार्फत नै मतपेटिका पनि ल्याउने व्यवस्था गरेका छौँ । 

आयोगले निर्वाचनमा अपाङ्गतामैत्री, लैङ्गिकमैत्री नीति अवलम्बन गराउने भनेको छ । यसमा आयोगको प्रतिबद्धता पनि थियो । उहाँहरूलाई मतदानको क्रममा कसरी सहजीकरण गरिँदै छ ?

हामीले यसका लागि छुट्टाछुट्टै व्यवस्थापन गरेका छौँ । मतदान केन्द्रमा महिला, गर्भवती, सुत्केरी, अशक्त, ज्येष्ठ नागरिकलाई फरक–फरक लाइनको व्यवस्था गरेका छौँ । उहाँहरूको प्रकृति र अवस्था अनुसार मतदान प्रक्रियामा सहभागी हुन सक्नुहुन्छ । 

उहाँहरूलाई छिटोभन्दा छिटो मतदान प्रक्रियामा सहभागी हुन पाउने गरी कार्य नीति बनाएका छौँ । सो नीति मतदान केन्द्रमा पनि पठाएका छौँ । सम्बन्धित मतदान अधिकृतले यसलाई सहज तरिकाले कार्यान्वयनमा लैजानु हुने छ । 


निर्वाचनको बेला सामाजिक सञ्जालमा फैलने भ्रामक सूचना र अफवाहलाई नियन्त्रण गर्न र सही सूचना जनतासमक्ष पु¥याउन आयोगको के योजना छ ? 

मैले पहिलेदेखि नै यो कुरा भन्दै आएको छु । सबैभन्दा पहिला सामाजिक सञ्जालमा आएका समाचार सही हुन् कि गलत भनेर छुट्याइदिनुस् । सामजिक सञ्जालमा आउँदैमा सबै सही हुँदैनन् । त्यसको सत्यता पहिचान गरेर मात्रै प्रतिव्रिmया जनाइदिन म आमनागरिकलाई अनुरोध गर्दछु । 

आयोगले पनि सही र झुटालाई छुट्याउन आफ्नै संयन्त्र प्रयोग गरेर तथ्य जाँच (फ्याक्ट चेक) गरिरहेको छ । तथ्य जाँच गर्दा गलत पुष्टि भएमा हामीले सम्बन्धित माध्यमलाई उक्त सामग्री हटाउन अनुरोध गर्छौं र हाम्रो अनुरोध अनुसार हटेका पनि छन् । यी सबै विषयवस्तुलाई समेटेर झुटा माध्यमबाट प्रसारित सामग्रीमा विश्वास नगरिदिनुस् । 

निर्वाचन प्रचारप्रसारका क्रममा उम्मेदवारको चुनाव चिह्नको रूपमा भौतिक सामग्री नै प्रयोग भएको थियो । यसलाई रोक्न आयोगले निर्देशन पनि दिएको थियो । अहिले के छ अवस्था ?

विगतमा निर्वाचनको माहोल चलिरहँदा तुल, झन्डा, ब्यानर केही पनि देख्न पाउनुभएको थिएन । अहिले पनि निकै कम हुँदै गइरहेको छ । अब रह्यो निर्वाचन चिह्नको । हरेक उम्मेदवारको निर्वाचन चिह्न फरक फरक छ । कसैको निर्वाचन चिह्न खुकुरी, बञ्चरो होला, कसैको रुख होला, कसैको कुखुरा वा भैँसी होला । 

यस्तो बेलामा सबै उम्मेदवारले आफूले पाएको ती सबै निर्वाचन चिह्न भौतिक रूपमै लिएर हिँड्न थाल्यो भने के होला ? त्यसैले सम्बन्धित उम्मेदवारलाई आफूले पाएको निर्वाचन चिह्नको सङ्केत मात्रै लिएर जानु भनेको हो । यसले निर्वाचन वातावरणलाई सहज पनि बनाउँछ । 

मतदानको दिन शान्तिसुरक्षाको स्थिति कस्तो रहन्छ ? विशेष गरी अति संवेदनशील मानिएका क्षेत्रमा सुरक्षाको अतिरिक्त तयारी के छ ? 

विगतका निर्वाचनमा उच्च जोखिम भनेर पहिचान भएका केही निर्वाचन केन्द्रमा हामी आफैँ भौतिक रूपमै उपस्थित भएर अवलोकन गरेका छौँ । ती स्थानको अवलोकन गरेर हामीले ती स्थल के कारणले उच्च जोखिममा रहेका छन् र त्यसका लागि के उपाय गरियो भने जोखिम घट्छ भनेर स्थानीयसँग छलफल पनि गरेका छौँ । सोही अनुसार सुरक्षा उपाय अवलम्बन गरेका छौँ । 

कुनै जिल्लामा मतदान गर्न जाँदा माथिबाट ढुङ्गा लडाउने समस्या रहेछ । हामीले अहिले त्यो ठाउँमा जहाँबाट ढुङ्गा लडाउने गरिएको छ, त्यहाँ नै सुरक्षाकर्मी राख्ने प्रबन्ध गरेका छौँ । कुनै ठाउँमा गौँडा कुरेर मतदान स्थगित भयो वा समस्या आयो भनेर मतदातामा त्रास फैलाउने र मतदान गर्नबाट वञ्चित गराउने गरिएको रहेछ । त्यस्तो ठाउँको पहिचान गरेर सुरक्षा व्यवस्था मिलाएका छौँ । 

उच्च जोखिम पहिचान भएका ठाउँमा जोखिम छैन । निर्वाचनको समयमा कुन ठाउँ उच्च जोखिममा छ र कुन छैन भनेर भन्न मिल्दैन । उच्च जोखिम भनिएको ठाउँमा समस्या नै नआउने र सामान्य भनिएको ठाउँमा समस्या सिर्जना पनि हुने गर्छ । यी सबै पक्षलाई ध्यानमा राखेर हामीले व्यवस्थापन गरेका छौँ । मतदातालाई पहिलो सुरक्षा दिनुस् भनेर ।


केही समयअघि बिबिसी नामक सञ्चार माध्यमले भदौको जेनजी आन्दोलनको विषयलाई लिएर एउटा समाचार सामग्री सम्प्रेषण गरेपछि बजारमा व्यापक हल्ला भयो । यो नियोजित रूपमा सम्प्रेषण गरिएको सामग्री हो भन्दै आलोचना पनि भयो । यसलाई आयोगले कसरी लिएको छ ?

हरेक निर्वाचनमा कुण्ठित उद्देश्य परिपूर्ति गर्ने उद्देश्य बोकेर कुनै न कुनै समूह सक्रिय भई नै रहन्छन् । यस्ता गतिविधि विगतमा पनि थिए र यस पटक पनि भइरहेको छ । त्यसलाई निस्तेज पार्ने दायित्व निर्वाचन आयोग र सरकारको पनि हो । बिबिसीको समाचार प्रकाशन हुनेबित्तिकै यसका विषयमा विविध टीकाटिप्पणी भए । उक्त सामग्री प्रसारण हुनेबित्तिकै हामीले तुरुन्त हटाउन भनिसकेका छौँ । त्यो कति सत्यतामा आधारित छ र त्यो प्रसारण हुने बेला हो कि होइन भन्ने विषय मुख्य हो, अहिलेको सन्दर्भमा । फेरि उक्त सामग्री जसले हेर्छन् भनेर प्रसारण गरिएको थियो, उनीहरूले नै तिरस्कार गरेको अवस्था छ । अब यो विषयलाई धेरै लम्ब्याउनु जरुरी छैन । 

फागुन १८ गते रातिबाट निर्वाचनको मौन अवधि सुरु हुँदै छ । निर्वाचनका लागि सबैभन्दा बढी चलखेल यही अवधिमा हुन्छ भन्ने गुनासा पनि आउने गर्छन् । यस पटक आयोगले मौन अवधिको व्यवस्थापन कसरी गर्दै छ ? 

मौन अवधिलाई हामी शून्य समय पनि भन्छौँ । यो १८ गते रातिबाट सुरु हुन्छ । शून्य समय अथवा मौन अवधिमा उम्मेदवार पनि शून्यमै बस्नु पर्छ । यो समयमा उम्मेदवारले निर्वाचन प्रचारप्रसार गर्न पाउँदैनन् । बरु निर्वाचन प्रचारका क्रममा मतदातासमक्ष के–कस्ता प्रतिबद्धता जनाइएको छ, त्यसलाई निर्वाचन पछि कसरी पूरा गर्न सकिन्छ भन्ने विषयमा उम्मेदवारले योजना बनाउनु पर्छ । आफू मत माग्न जाँदा मतदाताको प्रतिक्रिया कस्तो रह्योलगायतका विषयमा पनि समीक्षा गर्ने समय हो यो । 

उम्मेदवारले यो समयमा मलाई मत देऊ भनेर सामाजिक सञ्जालमा लेख्नुभएन । कसैलाई एसएमएस गर्नुभएन । सामाजिक सञ्जालमा विगतमा कुनै पोस्ट राखिएको रहेछ भने हटाउनु पर्छ । यस्तो समयमा मतदातालाई असर पर्ने कुनै काम गर्नुहुन्न । मौन अवधिमा हामी यस पटक विशेष निगरानी गर्दैछौँ । अनुगमनका लागि अनुगमन अधिकारी खटाएका पनि छौँ । धेरै चलखेल हुने ठाउँमा सूक्ष्म अनुगमन पनि गरेका छौँ । 

फेरि एउटा दलले कतै बदमासी ग¥यो भने अर्को दलले पनि त्यसलाई निगरानी गर्नु पर्छ । निर्वाचनलाई नै असर पर्ने गरी कुनै उम्मेदवारले गतिविधि गरेमा उसको मनोनयनपत्र खारेज पनि हुन सक्छ । मनोनयन पत्र नै खारेज भयो भने त अर्को छ वर्षसम्म चुनावी प्रतिस्पर्धामा भाग लिन पाउनुहुन्न । यो भनेको १२ वर्षपछि धकेलिनु हो । किनकि छ वर्ष भाग लिन नपाउनु भनेको अब आउने निर्वाचनमा पनि भाग लिन नपाउनु हो ।

मतदान प्रक्रिया सकिसकेपछि प्रत्यक्ष र समानुपातिकको नतिजा आउन कति समय लाग्ला ?

यो विशेष निर्वाचन हो । २१ गते साँझ ५ बजे मतदान प्रक्रिया समाप्त हुन्छ । मतपेटिका सङ्कलन गरेर मतगणना सुरु गर्छौं । मतगणना सुरु भएको २४ घण्टामा नतिजा निकाल्न सक्छौँ भन्ने हाम्रो दाबी छ । पहिलो चरणमा प्रत्यक्षतर्फको मतगणना सकिएपछि समानुपातिक प्रणालीको मत गणना गर्छौं ।

विगतमा प्रतिनिधि सभा निर्वाचनसँगै प्रदेश सभा सदस्यको निर्वाचन पनि हुने गर्दथ्यो । अहिले प्रतिनिधि सभा सदस्यको मात्रै छ । यस हिसाबले मतगणना सहज हुन्छ । फेरि यस पटक मतगणनाका लागि जनशक्ति धेरै राख्छौँ । मतगणना स्थल पनि बढाउँछौँ । मतदान भइसकेपछि मतदाताको सबैभन्दा ठुलो जिज्ञासा पनि मत परिणाममा नै हुन्छ । आफूले मतदान गरेको उम्मेदवार विजयी भए कि भएनन् वा उसले कति मत प्राप्त ग¥यो भन्ने चासो मतदातालाई हुन्छ । यस्तो पेचिलो विषयलाई हामी धेरै समय लगाउने पक्षमा छैनौँ । समानुपातिक प्रणालीको पनि ढिलोमा फागुन २४ गतेभित्रमा नतिजा सार्वजनिक गरिसक्छौँ ।


विगतमा मतगणना स्थलमा जालीसमेत लगाएर दुई/तीन तहको सुरक्षा घेरामा राख्ने गरिएको थियो । तैपनि विविध समस्या आएको थियो । यस पटक मतगणना स्थलको सुरक्षा कसरी हुन्छ ? 

मतगणना स्थलमा आवश्यकता अनुसार सुरक्षा प्रबन्ध हुन्छ । विगतमा कुनै ठाउँमा खुला चौरमा मतगणना गरेर नतिजा सार्वजनिक गरेका पनि प्रशस्तै उदाहरण छन् । कुनै ठाउँमा कडा सुरक्षाको बिचमा पनि मतगणना भएका घटनासमेत हामीले देखेका छौँ । मतगणना स्थलको सुरक्षा आवश्यकता अनुसार हुन्छ तर सबै ठाउँमा एकै प्रकारको नहुन पनि सक्छ । 

मतपरिणाम आएपछि उमङ्ग हुन्छ । विजयी उम्मेदवारको जुलुस पनि हुन्छ । यसलाई कसरी व्यवस्थित गर्दै हुनुहुन्छ ?

स्वाभाविक हो, निर्वाचन जितेपछि सबैमा उमङ्ग हुन्छ । बढी उत्साही भएर गैरकानुनी गतिविधि गरेमा निर्वाचित उम्मेदवारको परिणाम खोसिन पनि सक्छ । यो विषय निर्वाचन आचारसंहितामै पनि उल्लेख गरिएको छ । भोज भतेर गर्न पाइँदैन । उहाँहरूलाई पनि यो विषयमा राम्रोसँग थाहा छ ।

निर्वाचन स्वच्छ, पारदर्शी, संयमित र निष्पक्ष बनाउने सन्दर्भमा सरोकारवालालाई के सन्देश दिनुहुन्छ ?

निर्वाचन प्रचारप्रसारका सन्दर्भमा उहाँहरूको अहिलेसम्मको भूमिकालाई हामी उच्च प्रशंसा गर्छौं । आउने दिनमा पनि उहाँहरूबाट यस्तो सहयोग रहन्छ भन्ने विश्वास हामीले गरेका छौँ । विशेष गरी फागुन १८ गते रातिदेखि मौन अवधि सुरु हुन्छ । यो अवधिमा पनि राजनीतिक दल तथा उम्मेदवारले संयमित, धैर्य र शान्त भएर भूमिका निर्वाह गरिदिनु हुने छ भन्ने मेरो अपेक्षा छ । मेरोतर्फबाट उहाँहरूलाई विशेष अनुरोध पनि छ । मतदातालाई पनि निष्ठापूर्वक मतदानमा भाग लिन अनुरोध गर्दछु । निष्ठापूर्वक काम गर्न सक्ने, स्थानीय समस्या बुझेर समाधान गर्न सक्ने प्रतिनिधि छान्न म अनुरोध गर्दछु । जसरी भए पनि निर्वाचन प्रक्रियामा सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछु । 


 

भिडियो तथा तस्बिर : मनोजरत्न शाही र केशव गुरुङ