• १८ फागुन २०८२, सोमबार

होली सद्भाव र एकताको प्रतीक : आचार्य

blog

रमेश विश्वकर्मा
गुल्मी, फागुन १८ गते।
रङ्गहरुको पर्व फागुपूर्णिमा(होली) पर्वका अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्नुभएको छ। मुख्यमन्त्री आचार्यले दिनुभएको शुभकामना सन्देशमा होली केवल रङ्ग खेल्ने पर्व मात्र नभई आपसी सद्भाव, सहिष्णुता र सामाजिक एकताको प्रतीक भएको उल्लेख गर्नुभएको छ। विविध जातजाति, भाषा र संस्कृतिको सुन्दर संगम रहेको लुम्बिनी प्रदेशमा यस्ता पर्वहरुले पारस्परिक सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभएको छ।

उहाँले मौलिक कला, संस्कृति, परम्परा, भेषभूषा र सांस्कृतिक अभ्यासहरुको संरक्षण तथा प्रवर्धनबाट मात्र दिगो समृद्धिको आधार निर्माण गर्न सकिने बताउनुभएको छ। सांस्कृतिक सम्पदालाई पर्यटन, उद्यम र स्थानीय उत्पादनसँग जोड्दै आर्थिक अवसर विस्तार गर्नु आजको आवश्यकता भएको उहाँको भनाइ छ। मुख्यमन्त्री आचार्यले आफ्नो पहिचान जोगाउँदै नयाँ पुस्तालाई संस्कृतिप्रति गर्व गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभएको छ। सांस्कृतिक विविधतामै प्रदेशको शक्ति निहित रहेको उल्लेख गर्दै उहाँले होलीजस्ता पर्वहरु सभ्य, मर्यादित र सकारात्मक सन्देश दिने गरी मनाउन आग्रह गर्नुभएको छ।

पर्व मनाउने नाममा कुनै पनि प्रकारको विकृति, विसंगति र अवाञ्छित गतिविधिलाई प्रश्रय दिन नहुने स्पष्ट पार्दै उहाँले जबरजस्ती रङ्ग दल्ने, अभद्र व्यवहार गर्ने, मादक पदार्थ सेवन गरी होहल्ला गर्ने वा अरुको स्वतन्त्रता र सुरक्षामा असर पर्ने गतिविधि अस्वीकार्य हुने बताउनुभएको छ। सबैले जिम्मेवार र अनुशासित व्यवहार गर्दै सुरक्षित वातावरणमा पर्व मनाउन उहाँले आग्रह गर्नुभएको छ। होली पर्वले आपसी विश्वास, सद्भाव र सहकार्यको भावना अझ प्रगाढ बनाउने विश्वास उहाँले व्यक्त गर्नुभएको हो।