राधाकृष्ण डुम्रे
वालिङ (स्याङ्जा), फागुन १८ गते । निर्वाचनको तयारीको बिचमा परेको होली पर्वलाई संयमता पूर्वक मनाउन जिल्ला प्रशासन कार्यालय स्याङ्जाले अनुरोध गरेको छ । होली मनाउने क्रममा निर्वाचन आचारसंहिताको पालना गर्न प्रशासनले आग्रह गरेको हो ।
प्रशासनले होलीको अवसरमा सम्पूर्ण स्याङ्जाबासीमा शुभकामना व्यक्त गर्दै परम्परा र संस्कृतिअनुसार मर्यादित तथा अनुशासित रूपमा पर्व मनाउन आग्रह गरेको छ । चुनावी माहोल भएका कारण आचारसंहिताको पूर्ण पालना गरी होली पर्व मनाउन आग्रह गरिएको स्याङ्जाका सहायक प्रमुख जिल्ला अधिकारी प्रेम सुवेदीले जानकारी दिनुभयो ।
कसैको इच्छा विपरीत रङ लगाउने, मादक पदार्थ सेवन गरी सार्वजनिक स्थलमा होहल्ला गर्ने, झैझगडा वा भिडभाडजन्य गतिविधि गर्ने जस्ता कार्य नगर्न प्रशासनले चेतावनी दिएको छ । साथै धार्मिक तथा राजनीतिक सद्भावमा असर पर्ने कुनै पनि गतिविधि नगर्न र आसन्न निर्वाचनको वातावरणमा खलल नपुर्याउन सबैलाई सचेत गराइएको सहायक प्रमुख जिल्ला अधिकारी सुवेदीले बताउनुभयो ।
होलीको समयमा निर्वाचन प्रचारप्रसार कार्यक्रम सञ्चालन गर्दा पनि सद्भाव कायम रहने गरी कार्यक्रम गर्न राजनीतिक दल तथा उम्मेदवारहरूलाई प्रशासनले विशेष आग्रह गरेको छ ।
उल्लेखित विषय तथा प्रचलित कानुनको उल्लङ्घन भएको पाइएमा कानुन बमोजिम कारबाही हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
यसैबिच फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी स्याङ्जामा अन्तिम चरणमा पुगेको जनाएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न जिल्ला प्रशासन कार्यालयले सुरक्षा तथा व्यवस्थापनका सबै तयारी पूरा गरेको जनाएको हो ।
प्रशासनका अनुसार उम्मेदवार, मतदाता, मतदान कर्मचारी र मतदान सामग्रीको सुरक्षा सुनिश्चित गर्न आवश्यक व्यवस्था मिलाएको हो ।