काठमाडौँ, फागुन १८ गते । सरकारले मध्यपूर्वका खाडी देशमा जाने श्रमिकका लागि श्रम स्वीकृति दिन स्थगित गरेको छ । मध्यपूर्वमा इजरायल, अमेरिका र इरानबिचको युद्धका कारण उत्पन्न
परिस्थितिलाई ध्यानमा राखेर सरकारले श्रम स्वीकृति प्रदान गर्न स्थगित गरेको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले ती देशमा तत्कालका लागि श्रम स्वीकृति दिने कार्य स्थगित गरिएको जानकारी दिनुभयो ।
इजरायल र अमेरिकाले इरानमा मिसाइल आक्रमण गरेपछि इरानले पनि मध्यपूर्वका विभिन्न देशमा रहेका अमेरिकी सैन्य क्याम्पमा जवाफी आक्रमण गर्दै आएको छ । इरानले युनाइटेड अरब इमिरेट्स (युएई), कतार, ओमान, कुवेतलगायतका देशमा रहेका अमेरिकी सैन्य बेस क्याम्पमा आक्रमण थालेको हो । जसले गर्दा त्यहाँ रहेका नेपालीको सुरक्षाको चासो बढ्दै गएको छ भने स्वदेशमा रहेका श्रमिकका परिवार पनि त्रसित छन् ।
मध्यपूर्व र आसपासका देशमा १७ लाखभन्दा बढी नेपाली कार्यरत छन् । जस अनुसार इरानमा छ जना, इजरायलमा छ हजार पाँच सय, इजिप्टमा पाँच सय, ओमानमा २५ हजार, कतारमा तीन लाख ५७ हजार, कुवेतमा एक लाख ७५ हजार, जोर्डनमा तीन हजार, बहराइन २८ हजार, साउदी अरबमा तीन लाख ८४ हजार ८६५, संयुक्त अरब इमिरेट्समा चार लाख ७८ हजार १४४, लेबनानमा एक हजार पाँच सय, इराकमा ३० हजार र साइप्रसमा १७ हजार गरी हाल कुल १७ लाख २९ हजार २८८ नेपाली नागरिक रहेको जनाइएको छ । सरकारले त्यहाँ रहेका नेपालीलाई सुरक्षित रहन आग्रह गरेको छ ।
श्रममन्त्री भण्डारीले अर्को सूचना जारी नभएसम्मका लागि वैदेशिक रोजगारीमा जानेका लागि सम्पूर्ण श्रम स्वीकृति प्रदान कार्य स्थगित गरिएको जानकारी दिनुभयो । सम्बन्धित देशमा जान विमानस्थलमा बसेका नागरिकलाई फर्केर आआफ्नो घर जान उहाँले अनुरोध गर्नुभयो । बढ्दो तनावबिच ती देशमा सुरक्षा सतर्कता बढेको भन्दै मन्त्री भण्डारीले विमानस्थलमा रहेका नेपालीलाई तुरुन्त घर फर्किन अनुरोध गर्नुभयो ।
त्यस्तै श्रम मन्त्रालयमा रहेको कल सेन्टर चौबिसै घण्टा तयारी अवस्थामा राखिएको बताउँदै उहाँले ती देशमा तनाव बढ्दै गएको खण्डमा नेपालीको उद्धार गर्नुपर्ने अवस्था आएमा त्यसका लागि समेत तयारी अवस्थामा रहेको जानकारी दिनुभयो । ती देशमा परिस्थिति के कसरी विकास हुन्छ, त्यसैका आधारमा एक/दुई दिनमा उद्धारको तयारी हुने सम्भावना व्यक्त गर्दै उहाँले भन्नुभयो, “अप्ठ्यारोमा परेका हाम्रा नागरिकलाई के कसरी उद्धार गर्न सकिन्छ । त्यस विषयमा अलर्ट अवस्थामा रहेर योजना बनाउने काम गरेका छौँ ।”
दूतावासका कर्मचारी सजग
श्रममन्त्री भण्डारीले आइतबार मध्यपूर्वका देशमा रहेका श्रम सहचारीसँगको जुम मिटिङमार्फत समस्यामा परेका नेपालीको सुरक्षाका लागि २४ घण्टा सजग रहन निर्देशन दिनुभएको छ । उहाँहरूसँग भएको कुराकानीमा अहिलेसम्म कसैलाई त्यस्तो समस्या नभएको पाइएकाले आउने समस्याका लागि सकेसम्म सजग रहन भनिएको उहाँले बताउनुभयो ।
यसअघि श्रम मन्त्रालयले मध्यपूर्वका देशमा विकसित पछिल्लो परिस्थितिका कारण त्यहाँ कार्यरत नेपाली श्रमिकलाई सुरक्षित रहन आग्रह गरेको छ । मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै प्रभावित नेपाली नागरिकको राहत र उद्धारका लागि सबै प्रकारका उपाय अवलम्बन गरिने विश्वास दिलाएको छ । मन्त्रालयले परिस्थितिमा सुधार नआउँदासम्म र युद्धको अवस्था समाप्त नहुन्जेलसम्म परराष्ट्र मन्त्रालय र सम्बन्धित क्षेत्रका नियोगको आधिकारिक सूचनामा मात्र विश्वास गर्न नेपाली नागरिकलाई विशेष अनुरोध गरेको छ । साथै गन्तव्य देशले जारी गरेका सुरक्षा सावधानीको पूर्ण पालना गर्न र नेपाली कूटनीतिक नियोग एवं कन्सुलरसँग नियमित सम्पर्कमा रहनसमेत आग्रह गरिएको छ । साथै विकसित परिस्थितिलाई सहज बनाउन कूटनीतिक नियोग, नेपाली आप्रवासी श्रमिक, गैरआवासीय नेपाली सङ्घ, वैदेशिक रोजगार व्यवसायी सङ्घलगायतका सरोकारवाला निकायलाई समन्वयका लागि अनुरोध गरिएको छ ।
विशेष सतर्कता अपनाउन आग्रह : एनआरएनए
गैरआवासी नेपाली सङ्घ (एनआरएनए) ले मध्यपूर्वमा रहेका करिब १८ लाख नेपालीलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । एनआरएनएले आइतबार विज्ञप्तिमार्फत फागुन १६ गते मध्यपूर्व क्षेत्रमा विकसित पछिल्ला घटनाक्रमले इजरायल, इरान, कतार, कुवेत, युएई र बहराइनलगायतका देशमा कार्यरत त्यो सङ्ख्यामा रहेका नेपालीलाई आआफ्नो सुरक्षा अपनाउन आग्रह गरेको हो ।
एनआरएनएले यस संवेदनशील परिस्थितिमा त्यहाँ रहेका सम्पूर्ण नेपालीलाई विशेष सावधानी अपनाउन अपिल गरेको छ । एनआरएनएका अध्यक्ष डा. बद्री केसीले विज्ञप्तिमार्फत नेपालीको सुरक्षालाई मुख्य प्राथमिकतामा राखी आवश्यक कदम चाल्नुपर्नेमा जोड दिएको छ ।
सङ्घले मध्यपूर्वी देशमा रहेका नेपालीलाई सम्बन्धित देशका सरकारी निकाय र नेपाली दूतावासले जारी गरेका सुरक्षा निर्देशनको कडाइसाथ पालना गर्न र अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कने र सुरक्षित स्थानमै बस्न आग्रह गरेको छ । राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) सचिवालय, स्थानीय नेपाली समुदाय र दूतावाससँग नियमित सम्पर्कमा रहने अवस्था सामान्य नभएसम्म इजरायल, इरान र अन्य मध्यपूर्वी देशको यात्रा योजना स्थगित गर्न आग्रह गरेको छ ।
सङ्घले नेपाल सरकार, परराष्ट्र मन्त्रालय र सम्बन्धित देशका नेपाली दूतावासलाई त्यहाँ रहेका नेपालीको अवस्थाबारे निरन्तर जानकारी लिन र उनीहरूको तत्काल सहायता तथा सुरक्षित व्यवस्थापनका लागि प्रभावकारी कदम चाल्न अनुरोध गरेको छ । सङ्घले विज्ञप्तिमार्फत यस प्रक्रियामा आवश्यक परेमा नेपाल सरकारसँग सहकार्य गर्न सदैव तत्पर रहेकोसमेत स्पष्ट पारिएको छ ।