• १८ फागुन २०८२, सोमबार

सुनचाँदीको मूल्य अझै बढ्न सक्ने

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, फागुन १८ गते । मध्यपूर्वी देशमा भएको आक्रमणका कारण सुनचाँदीको मूल्य थप बढ्ने अनुमान गरिएको छ । अमेरिका र इजरायलद्वारा इरानमाथि भएको आक्रमण र इरानले पनि विभिन्न देशमा गरेको प्रत्याक्रमणको भोलिपल्ट नेपाली बजारमा सुनको मूल्य पाँच हजार रुपियाँभन्दा धेरैले बढेको छ । 

शुक्रबार तीन लाख १४ हजार नौ सय रुपियाँमा कारोबार भएको सुनको मूल्य आइतबार एकै दिन पाँच हजार छ सय रुपियाँले बढेर तीन लाख २० हजार पाँच सय रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आइतबार अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस सुनको मूल्य बढेर पाँच हजार २८० अमेरिकी डलर पुगेको छ । 

महासङ्घका उपाध्यक्ष धर्मसुन्दर वज्राचार्यले इरानमाथि भएको आक्रमणका कारण अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य अझै बढ्ने अनुमान गरिएको जानकारी दिनुभयो । अन्तर्राष्ट्रिय बजारमा देखिएको अस्थिरता र मध्यपूर्वमा बढ्दो तनावका कारण सुनको मूल्य बढ्दै जाने देखिएको उहाँको भनाइ छ । युद्धका लम्बिँदै गयो भने सुनको मूल्य थप बढ्दै जाने उहाँले जानकारी दिनुभयो । 

पछिल्लो समय सुनचाँदी सुरक्षित लगानीको क्षेत्र बन्दै गएकाले पनि लगानीकर्ता आकर्षित हुँदा मूल्य निरन्तर बढ्दै गएको छ । यसअघि प्रतितोला तीन लाख ३९ हजार रुपियाँ पुगेको सुनको मूल्य घटेर दुई लाख ८६ हजार रुपियाँसम्म झरेको थियो । त्यसपछि फेरि बढ्दै गएको सुनको मूल्यमा केही समय उतारचढाव आएको थियो । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा त्यसको प्रभाव सिधै स्थानीय बजारमा पर्ने गर्छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको आर्थिक नीति, भूराजनीतिलगायतका कारणले गर्दा पछिल्लो समय निरन्तर सुनको मूल्य बढ्दै गएको छ । सुनको मूल्य बढ्दा उपभोक्ता र व्यवसायी दुवैलाई प्रत्यक्ष असर पर्ने गर्छ । 

यस्तै चाँदीको मूल्यसमेत तोलामा २४५ रुपियाँले बढेको छ । शुक्रबार प्रतितोला पाँच हजार ७४० रुपियाँमा कारोबार भएको चाँदीको मूल्य बढेर आइतबार पाँच हजार ९८५ रुपियाँ पुगेको महासङ्घले जनाएको छ । आइतबार अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस चाँदीको मूल्य ९३ अमेरिकी डलर पुगेको छ ।