नेपालगन्ज समाचारदाता
नेपालगन्ज, फागुन १८ गते । नेपालगन्ज भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनामा विभिन्न १८ देशबाट ४४ अर्ब रुपियाँभन्दा बढीको आयात भएको छ । नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलका अनुसार गत सात महिनाको अवधिमा भारतलगायत १८ देशबाट ४४ अर्ब ५४ करोड २१ लाख ६६ हजार रुपियाँ बराबरको मालसामान आयात भएको हो । सबैभन्दा बढी आयात भारतबाट मात्रै ४१ अर्ब पाँच करोड ९७ लाख ९७ हजार रुपियाँ बराबरको भएको छ । नेपालगन्ज भन्सार कार्यालयका अनुसार चीनबाट दुई अर्ब ५२ करोड ५० लाख ७० हजार मूल्य बराबरको मालसामान आयात भएको छ ।
त्यस्तै अस्ट्रेलिया, इटाली, मलेसिया, अमेरिका, डेनमार्क, स्पेन, इन्डोनेसिया, साउदी अरब, सिङ्गापुर, दक्षिण अफ्रिका, थाइल्यान्ड, युएई, श्रीलङ्का, भियतनामलगायतका १८ वटा देशबाट मालसामान आयात भएको छ ।
सात महिनाको अवधिमा नेपालबाट भने दुई वटा देशमा मात्रै एक अर्ब ६३ करोड २० लाख ६९ हजार मूल्य बराबरको मालसामान निर्यात भएको छ । जसमा भारतमा एक अर्ब ६३ करोड पाँच लाख ५४ हजार र युनाइटेड अरब इमिरेट्समा १५ लाख १४ हजार रुपियाँको निर्यात पर्दछ ।
नेपालगन्ज भन्सार कार्यालयबाट हुने आयातनिर्यातमा व्यापार घाटा चालु आवको सात महिनामा ९६.४१ प्रतिशत रहेको सो कार्यालयका प्रमुख पौडेलले बताउनुभयो । उहाँले अघिल्लो आवको सोही अवधिमा व्यापार घाटा ९६.४२ प्रतिशत रहेको पनि जनाउनुभयो ।
त्यस्तै उक्त कार्यालयले चालु आवको सात महिनामा लक्ष्यको ४५ प्रतिशत राजस्व सङ्कलन गरेको छ । चालु आव २०८२/८३ का लागि वार्षिक लक्ष्य २४ अर्ब ५४ करोड ५७ लाख ८२ हजार रुपियाँ निर्धारण भएकोमा माघ मसान्तसम्म ११ अर्ब चार करोड ६५ लाख ८५ हजार रुपियाँ अर्थात् लक्ष्यको ४५.०१ प्रतिशत असुली भएको छ । उहाँका अनुसार लक्ष्य पूरा गर्न बाँकी पाँच महिनामा ५५ प्रतिशत राजस्व सङ्कलन गर्नुपर्ने चुनौती छ । मासिक लक्ष्य अनुसार हालसम्म कुनै पनि महिनामा राजस्व सङ्कलन हुन सकेको छैन ।
आव २०८१/८२ मा नेपालगन्ज भन्सारले लक्ष्यको ७४.६४ प्रतिशत राजस्व सङ्कलन गरेको थियो भने आव २०८०/८१ मा ६३.३५ प्रतिशत राजस्व सङ्कलन गरेको थियो ।
नेपाल–भारत सीमाको जमुनाह नाकामा एकीकृत जाँचचौकी सञ्चालनमा आएपछि आयातनिर्यात वृद्धि भई भन्सार राजस्व वृद्धि हुने अपेक्षा गरिए पनि केही वर्षयता लक्ष्य पूरा हुन नसकेको भन्सार प्रमुख पौडेलको भनाइ छ ।