• १८ फागुन २०८२, सोमबार

क्षतिग्रस्त उद्योगले पाएन बिमा रकम

blog

इलाम नगरपालिका–४, जसबिरेमा आगोले क्षतिग्रस्त चिया प्रशोधन उद्योग पुनर्निर्माण हुुँदै । आउँदो सिजनदेखि यो कारखानाले दैनिक एक लाख किलो हरियो पत्ती प्रशोधन गर्ने तयारी गरेको छ । तस्बिर : कोकिला ढकाल

कोकिला ढकाल

इलाम, फागुन १८ गते । “ऋणले चुर्लुम्मै डुबियो, न काम लाग्ने पुराना सामग्री चलाउन पाइयो न त ऋण तिर्न पाइयो, किन मान्छे विदेश पलायन हुन्छन् भन्ने कुराको हेक्का हुँदै छ अहिले,” इलामको जसबिरे चिया कारखानाका सञ्चालक शरद सुब्बाले भन्नुभयो, “शुभचिन्तकबाट लिएको रकम समयमा फिर्ता गर्न नसक्दा लज्जाबोध भइसक्यो ।” 

एक वर्षअघि फागुन १३ गते आगो लागेर करिब सात करोड रुपियाँ बराबरको क्षति बेहोरेको इलाम नगरपालिका–४ स्थित जसबिरे चिया कारखाना अहिले पुनर्निर्माण भइरहेको छ । आगलागी भएको एक वर्षसम्म सम्बन्धित बिमा कम्पनीले भएको क्षतिको रकम नदिँदा भने समस्या भएको छ । “आगो लाग्यो, क्षति भयो, त्यही क्षति हुन्छ र क्षतिपूर्ति पाइन्छ भनेर गरेको बिमाबाट अहिले सम्म क्षतिपूर्ति नै पाइँदैन भने किन बिमा गर्ने ?” कारखाना सञ्चालक सुब्बाले गुनासो गर्नुभयो, “बिमा गरेको थिएन भने आगोबाट बचेका सामग्री मर्मत गरेर पुनः प्रयोग गर्न पाइन्थ्यो, लागत पनि कम हुन्थ्यो ।” बिमा कम्पनीले दिनुपर्ने रकम समयमा नदिँदा बिमा कम्पनीसँग सुब्बा अहिले निकै रुष्ट हुनुहुन्छ । 

नेपालकै ‘वेस्ट टी मेकर’ का रूपमा पहिचान बनाएका सुब्बाले कारखानाको पुनर्निर्माण गर्ने क्रममा एक करोड ७० लाख रुपियाँ नगद सहयोगीले दिएको ऋण तिर्न बाँकी रहेको बताउनुभयो । 

नेको इन्स्योरेन्समा चार करोड १० लाख रुपियाँको बिमा गरेकोमा एक करोड ९० लाख मात्रै दिने भनिरहेको उद्योग सञ्चालक तथा अर्का लगानीकर्ता ग्रीष्म सुब्बा बताउनुहुन्छ । सबै कागजात बुझाउँदा पनि बिमा कम्पनीले क्षति बराबरको भुक्तानी नदिने हो भने बिमा गर्ने अरू उद्योगी पनि समस्यामा पर्ने उहाँको भनाइ छ । 

नेको इन्स्योरेन्सको इलाम शाखामा कार्यरत कर्मचारी मनकुमार तामाङ उक्त उद्योगको बिमा रकम भुक्तान गर्न ढिलो नै भएको बताउनुभएको छ । “ढिलो नै भएको छ, अहिलेसम्म सर्भेयरले बिमा कम्पनीमा क्षति मूल्याङ्कन रिपोर्ट बुझाएका छैनन्,” उहाँले भन्नुभयो, “सर्भेयरले दिने डेबिट भौचर हो । त्यो आएकै छैन ।” 

तामाङले उद्योग सञ्चालकसँग पनि कुरा भइरहेको बताउनुभयो । बिमा कम्पनीले साना घटना आफैँ क्षति मूल्याङ्कन गरेर क्षतिपूर्तिको रकम दिने गरे पनि ठुला क्षतिमा सर्भेयर नै खटाउने गरेको उहाँले जानकारी दिनुभयो । 

काठमाडौँमा आयोजित ‘नेपाल टी च्यालेन्ज २०२४’ मा ‘वेस्ट टी मेकर’ घोषित भएका शरदले यो कारखानाबाट ह्वाइट टी, ओलाङ, ग्रिन, गोल्डेन, गोल्डेन पललगायत ३५ भन्दा बढी प्रकारका चिया तयार गरेर तेस्रो मुलुक निर्यात गर्दै आउनुभएको थियो ।