• १८ फागुन २०८२, सोमबार

निर्वाचनमा पत्रकारको सुरक्षामा ध्यान दिन महासंघको आग्रह

blog

गोरखापत्र अनलाइन

काठमाडौं, फागुन १७ गते । नेपाल पत्रकार महासंघले निर्वाचनको समयमा दुर्गम क्षेत्रमा खटिने पत्रकारको सुरक्षा र आकस्मिक उद्धारका लागि ‘मिडिया सेफ्‌टी डेस्क’ र आवश्यक परेको खण्डमा हवाई उद्धारको व्यवस्था समेत मिलाउन सरकारसँग आग्रह गरेको छ । 

निर्वाचनको पूर्वसन्ध्यामा आइतबार महासंघका अध्यक्ष निर्मला शर्माले विज्ञप्तिमार्फत सो आग्रह गर्नुभएको हो । नागरिक अगुवा संस्थाको नेतृत्व गरेकै कारण मुलुकमा वर्तमान राजनीतिक अन्योल निर्वाचनको माध्यमबाट अन्त्य हुनुपर्छ भन्ने महासंघ मान्यता रहेको उहाँको भनाइ छ । 

लोकतन्त्रको सुन्दर पक्ष भनेको दलीय प्रतिस्पर्धाबाट जनमत प्राप्त गरी अनुमोदित हुनु रहेको बताउँदै अध्यक्ष शर्माले जनमतबाट अनुमोदित र लोकतान्त्रिक मूल्य, मान्यतालाई स्थापित गर्न फागुन २१ गते आमनिर्वाचनका लागि सबै दलहर आफ्ना एजेन्डा र उम्मेदवारसहित देशभर प्रचार–प्रसारमा जुटिरहेको बताउनुभएको छ ।

जेन्जीको आन्दोलनका बेला सञ्चारगृहले सबैभन्दा बढी भौतिक क्षति, पत्रकारले असुरक्षा र  ‘सेल्फ सेन्सरसीप’ व्यहोरेको बताउँदै उहाँले अहिले पनि अघोषित सेन्सरसीप रहेको चर्चा गर्नुभयो । 

निर्वाचनको बेला भ्रम फैलाउने सूचनाको बिगबिगी सामाजिक सञ्जालमा धेरै देखिने गरेकाले सचेत रहन आग्रह गर्दै उहाँले समाजलाई गलत दिशातिर डोर्‍याउन खोज्नु झन गलत काम भएको बताउनुभएको छ । सही, सत्य र निष्पक्ष समाचार पस्कन उहाँले आम सञ्चार माध्यमलाई आग्रह गर्नुभयो । 

समाजका यी भ्रमहरूलाई चिर्न सत्य–तथ्य र निष्पक्षमा आधारित रहेर सामग्री प्रकाशन, प्रसारण गरे मात्रै पत्रकार र सञ्चारगृहले आफ्नो उत्तरदायी भूमिका र व्यावसायिक धर्म पूरा गरेको व्यवहारतः देखिने उहाँको भनाइ छ ।  

संवैधानिक जटिलता देखिएको बेला यसलाई स्थायी निकास दिने पत्रकारको पनि दायित्व भएको बताउँदै उहाँले संविधान रहेमात्रै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता रहन्छ भन्नुभयो। 

निर्वाचनको रिपोर्टिङमा खटेका पत्रकारहरूलाई समाचार खोज्न, लेख्न र प्रसारण गर्ने कार्यमा कुनै पनि किसिमका अवरोध नर्गन सबै सरोकारवाला पक्षसँग अनुरोध गर्दछौं, उहाँले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।