गोरखापत्र अनलाइन
काठमाडौं, फागुन १७ गते । नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबाट जिल्ला तथा प्रदेशस्तरीय नेताहरू नेकपा (एमाले) मा प्रवेश गरेका छन् । नेकपाबाट एक जना पूर्व केन्द्रीय सदस्य पनि एमालेमा प्रवेश गर्नुभयो ।
एमालेमा प्रवेश गरेका नेकपा माओवादी केन्द्रका तत्कालीन केन्द्रीय सदस्य रवि गौतमसहितलाई आइतबार उपाध्यक्ष रामबहादुर थापा बादलले एमालेमा स्वागत गर्नुभयो । माओवादीका पूर्व केन्द्रीय सदस्य, बागमती प्रदेश कमिटी सदस्यहरू र काठमाडौं उपत्यकाका विभिन्न कमिटीमा सक्रिय उहाँहरूलाई आइतबार एमालले केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा उपाध्यक्ष बादलले स्वागत गर्नुभयो ।
एमालेका युवा नेता तथा बागमती प्रदेश कमिटीका निवर्तमान सदस्य नारायणप्रसाद सापकोटासहितले उहाँहरूलाई एमालेमा भित्र्याउनुभयो । यसरी एमालेमा प्रवेश गर्नेहरूमा नेकपाबाट १० जना र रास्वपाबाट १ जना छन् । एमालेमा प्रवेश गर्नेमा नेकपाका दुई जना बागमती प्रदेश कमिटी सदस्य र चारजना काठमाडौं जिल्ला कमिटी सदस्य छन् ।
आज तीनजना टोखा नगर कमिटी सदस्य पनि एमालेमा प्रवेश गरेका छन् । दुई जना उपत्यका बाहिर भएकाले उपस्थिति हुन नसके पनि पार्टीको निर्णय अनुसार अघि बढ्ने बताएका छन् । एमालेको यात्रा थाल्नेमा एकजना राष्ट्रिय स्वतन्त्र पार्टीका बागमती प्रदेश कमिटी सदस्य हुन् । रास्वपा बागमती प्रदेश कमिटी सदस्य राजेन्द्र रेग्मीलाई पनि बादलले एमालेमा स्वागत गर्नुभयो ।
एमाले प्रवेश गर्नेहरुमा रवि गौतम ‘प्रभात’, माओवादी पूर्वकेन्द्रीय सदस्यहरु रामकुमार थापा, बागमती प्रदेश कमिटी सदस्य एवं तारकेश्वर नगरको इनचार्ज भूषण महर्जन, बागमती प्रदेश कमिटी सदस्य प्रकाश भण्डारी, काठमाडौं जिल्ला कमिटी सदस्य श्याम भण्डारी, काठमाडौं जिल्ला कमिटी सदस्य शंगम वैध, टोखा नगर कमिटी सदस्य राजु लामा, टोखा नगर कमिटी सदस्य प्रकाश लामा, नगर सदस्य टोखा (हाल वडा सचिव) राजेन्द्र रेग्मी राष्ट्रिय स्वतन्त्र पार्टी, बागमती प्रदेश सदस्य रहनुभएको छ ।