• १३ असार २०८१, बिहिबार

१९औं एसियाडको नयाँ मिति घोषणा

blog

काठमाडौं, साउन ३ गते । ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले यसअघि कोभिड–१९ महामारीका कारण स्थगित गरिएको १९औं एसियाली खेलकुदको नयाँ मिति घोषणा गरेको छ । ओसिएले आयोजक चीनसँगको सहमतिमा मङ्गलबार एसियाड सन् २०२३ को सेप्टेम्बर २३ देखि अक्टोबर ८ तारिखसम्म  हाङझावमा गर्ने उल्लेख गरेको छ । 

यसअघि एसियाड २०२२ सेप्टेम्बर १० देखि २५ (भदौ २५ देखि असोज ९ गते) सम्म गरिने तय भएको थियो । तर कोरोनाको महामारी पुनः सुरु भएपछि ओसिए र आयोजक चीनले एसियाड स्थगित गर्ने निर्णय गरेको थियो । एसियाड स्थगित भएसँगै ओसिएको कार्यकारी समितिले गत मे ६ तारिख एसियाडको नयाँ मिति तय गर्न विशेष ‘टास्क फोर्स’ बनाएको थियो ।

टास्क फोर्सले पछिल्लो दुई महिनामा चिनियाँ ओलम्पिक कमिटी, हाङझाव एसियाली खेलकुद आयोजक कमिटी, चीन सरकार र सरोकारवालासँग छलफलगरी नयाँ मिति तय गरेको हो । ‘टास्क फोर्सले प्रस्ताव गरेको मितिलाई ओसिएले स्वीकृत गरेको समाचार संस्था एएफपीले जनाएको छ । 

नेपालले एसियाडमा २३ खेलमा सहभागिता जनाउने निर्णय यस अघि नै गरिसकेको छ । सोही बमोजिम एसियाडका लागि नेपाली खेलाडीको दोस्रो चरणको छनोट प्रतियोगिता सम्पन्न भइसकेको छ । 

एसियाडमा नेपालले तेक्वान्दो, कराते, बक्सिङ, एथलेटिक्स, साइक्लिङ, फुटबल महिला, गल्फ, कुस्ती, भारत्तोलन, जुडो, पौडी, ट्रायथेलन, उसु, आर्चरी, बास्केटबल, कबड्डी महिला, फेन्सिङ, ह्याण्डबल महिला, महिला भलिबल, पुरुष क्रिकेट, सुटिङ, ब्याडमिन्टन र टेबलटेनिसमा भाग लिने निर्णय गरेको छ । एसियाडमा नियमित सहभागिता जनाउँदै आएको नेपालले अहिलेसम्म स्वर्ण पदक जित्न सकेको छैन ।